‘चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने’

काठमाडौं । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार प्रकाशित गरेको नागरिक न्युजमा खबर छ ।

प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत् आयोजनाको बाँध बनाएमा त्यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समचार छापेको छ । इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिरसहितको समाचार प्रथम पृष्ठमा छापेको छ । उसले ‘इफ चाइना बुल्ड युअर ड्याम, इन्डिया उड नट बाई इनर्जी’ शीर्षक दिएर एक कोलमको समचार लेखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा ‘आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिन सक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने’ बताउने अपेक्षा गरिएको समचारमा उल्लेख छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको समाचार भारतीय मिडियाहरुले गत कात्तिक २९ मा छापेका थिए । त्यस बेला टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई बुढीगण्डकी आयोजना दिन चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्द गरेको दाबी गरेको थियो । एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो । नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलाई दिन लागेको समाचारमा उल्लेख थियो ।

त्यस बेला लाइसेन्स दिने र अहिलेको खारेजी दुबै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हावी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उल्लेख गरेको थियो । नेपालका ठूला हाइड्रो प्रोजेक्टहरुमा बेइजिङ ‘प्लेयर’का रुपमा देखिएको टिप्पणी पनि त्यसबेला उक्त पत्रिकाले लेखेको थियो ।

अहिले फेरी प्रधानमन्त्री ओली भारत भ्रमणमा निष्केकै दिन त्यस्तै खालका समचारहरु भारतीय अखवारले लेख्न थालेका छन् ।

शुक्रबार द हिन्दु र टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन् । द हिन्दुमा ‘नेपाल ऋण पासोबाट डराएको छैन – ओली’ शीर्षकमा पहिलो पेजमा समाचार छापेको छ भने भित्री पेजमा अन्तर्वार्ता दिइएको छ । टाइम्स अफ इन्डियाले प्रधानमन्त्रीको भनाइलाई पहिलो पेजमा राख्दै भित्री पेजमा अन्तर्वार्ता छापेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत