व्यवस्थापनको नाममा वन विनाश

काठमाडौं । वैज्ञानिक वन व्यवस्थापन गर्ने नाममा रौतहटका तीनवटा सामुदायिक वनले २ हजारभन्दा बढी रूख कटान सुरु गरेका छन् ।

जिल्लाका चन्द्रपुर नगरपालिका–२ मा रहेको नमुना सामुदायिक वन, वडा–४ मा रहेको जन एकता सामुदायिक वन र वडा–६ मा रहेको हातेमालो सामुदायिक वनका सयौं सालका रूख काटिएका हुन् ।

अग्नि रेखा निर्माण वैज्ञानिक तवरले वनको संरक्षण गर्ने लक्ष्य भन्दै एकसाथ ती सामुदायिक वनहरूमा माउ रूख तथा ढलेका रूख कटान भइरहेको छ । जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले वन व्यवस्थापनका लागि रूख काटिएको बताए पनि लाखौं मूल्य पर्ने रूख जथाभावी कटान भइरहेको राजधानीमा खबर छ ।  ।

जिल्ला वन कार्यालय रौतहटका अनुसार वैज्ञानिक वन व्यपस्थापनका लागि नमुना सामुदायिक वनका ५१७, हातेमालो सामुदायिक वनका ३१५, जन एकता सामुदायिक वनका २१२ र राष्ट्रिय वनअन्तर्गतको धन्सार प्लट फरेस्टमा ९७१ गरी २१५ वटा साललगायतका रूख काटिनेछन् ।

रूख कटानबाट नमुना सामुदायिक वनबाट करिब ६ हजार ५ सय क्युफिट, जन एकता सामुदायिक वनबाट ४ हजार ५ सय क्युफिट र हातेमालो सामुदायिक वनबाट ४ हजार क्युफिट काठ उत्पादन हुने जिल्ला वन अधिकृत कोइरालाले जानकारी दिए ।

कटानबाट ८१ चट्टा दाउरा समेत उत्पादन हुने वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा धमाधम रूखहरू काटिँदै छन् । नमुना सामुदायिक वनमा ५ हजार ४ सय मिटर र हातेमालो सामुदायिक वनमा ३ हजार ८९७ मिटर लामो अग्नि रेखा बनाउने योजनाअन्तर्गत रूख कटान सुरु भएको छ ।

अग्नि रेखा बनाउने स्थान र पुराना रूख गरी सो संख्यामा साललगायतका विभिन्न जातका रूख काटन भइरहेको हो । केही सामुदायिक वनमा उपभोक्ताले विरोध जनाए पनि रूख काटिने क्रम रोकिएको छैन ।

जिल्ला वन अधिकृत कोइरालाले भने वैज्ञानिक वनबाट उपभोक्तालाई नै फाइदा हुने दाबी गरेका छन् । सामाजिक, आर्थिक तथा वातारणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै वैज्ञानिक वन व्यवस्थापन भएको जिल्ला वन अधिकृत कोइरालाले जानकारी दिए ।

वन व्यवस्थापनबाट उपभोक्तालाई ठूलो लाभ र समाजको विकास हुने भएकाले पनि सरकारले यस नीतिलाई अवलम्बन गरेको उनले जानकारी दिए । ‘वैज्ञानिक वन व्यवस्थापनले काठ चोरी नियन्त्रण, आगलागी नियन्त्रण, उपभोक्ताले सहज रूपमा काठ दाउरा पाउने भएको हुँदा पनि यो वनको नीति उपभोक्ताकै हितमा छ,’ कोइराला भन्छन् ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट आफ्नो वन क्षेत्रको संरक्षण गर्न सहज भएको हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोक्करले बताए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा काटिएका रूखको सही सदुपयोग गरी उपभोक्तालाई काठ उपलब्ध गराउने र सोको आम्दानीबाट सामुदायिक वनको संरक्षण गर्न सहज हुने भन्दै अध्यक्ष स्वयं कटानमा सक्रिय छन् ।

उपभोक्ताले भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम वन मास्ने कार्यक्रम भएको बताएका छन् । सालको रूख भएको सामुदायिक वनमा मात्र यस्तो कार्यक्रम सञ्चालन गरेको जुडिबेलाका स्थानीय मनोजकुमार चौधरीले बताए ।

उता, आगामी वर्षदेखि अन्य तीनवटा सामुदायिक वनमा कार्बन उत्र्सजन गर्ने लक्ष्यसाथ काम भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ । वन मन्त्रालयको रेड महाशाखाले रौतहटका तीनवटा वनमा कार्बन उत्सर्जन गर्ने लक्ष्यसाथ काम गरिरहेको जिल्ला वन अधिकृत कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत