हात्तिवनमा माइक्रो दुर्घटना

२५ चैत्र ०७४, ललितपुर । हात्तिबन–रत्नपार्क सडकखण्डमा सहचालकलाई माइक्रो बस चलाउँदा दुर्घटना भएको छ ।

आइतबार बिहान करिब ४ बजे बा २ ख २५८१ नम्बरको हात्तिबन–रत्नपार्क चल्ने माइक्रोबस दुर्घटनामा परेको हो । ललितपुर ट्राफिक प्रहरीका अनुसार बिहानको समय भएकाले माइक्रोबसमा कोही पनि यात्रु सवार थिएनन् । दुर्घटनामा परेका चालक र सहचालक पनि सकुशल रहेका छन् ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार माइक्रोबसका चालकले सहचालकलाई माइक्रो चलाउन दिँदा दुर्घटना भएको खुल्न आएको छ । मोडमा तीव्र गतिमा रहेको माइक्रोबसले समयमा टर्निङ काट्न नसकेर रेलिङ भाँचेर ४० फिट तल गोठमाथि खसेको हो ।

गोठ खाली भएको कारण त्यहाँ हताहतीबाट भने जोगिएको छ । ठूलो दुर्घटना भए पनि चालक र सहचालक आश्चर्यजनकरुपमा सकुशल रहेको प्रहरीका प्रमुख हाछेथुले बताए ।

प्रहरीले रामेछाप घर भएका हात्तिबन बस्ने १६ वर्षीय सहचालक सागर दलानी मगर र चालक प्रकाश दलानी मगरविरुद्ध आवश्यक कारवाही अगाडि बढाएको जनाएको छ ।

ठूलो दुर्घटना भएको र आइन्दा यस्तो घटना फेरि नघटोस् भनेर सार्वजनिक अपराधको मुद्दामा प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको छ ।यसअघि लाइसेन्स नभएको पाइएमा हामीले १ हजार जरिवाना गर्ने गरेका प्रमुख हाछेथुले बताए ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत