सिंहदरबारमै सौर्य उर्जा

काठमाडौं । चीन सरकारको अनुदान सहयोगमा सिंहदरबारभित्र एक मेगावाट सोलार ऊर्जा जडान भएको छ।

सोलारबाट उत्पादन भएको ऊर्जा विभिन्न कार्यालयसहित २१ वटा भवन र तीन वटा पार्किङस्थलमा राखिएको राखिएका  हो ।

चिनियाँ सरकारको तीन करोड ७० लाख आरएमबी (करिब ६० करोड रुपैयाँ) लागतमा ९५४.७९ किलोवाट सौर्य ऊर्जा उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोडिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

चिनियाँ कम्पनीले मंगलबार नेपाल सरकारलाई सोलार ऊर्जा हस्तान्तरण गरेको छ । सोलार ऊर्जाको प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत यू होङले संयुक्त रूपमा उद्घाटन गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनका इकोनोमिक काउन्सिलर पेङ विईले संयुक्त हस्ताक्षर गरेको यो सौर्य ऊर्जा नेपाल सरकारले बुझेको छ ।

२०७३ मा निर्माण सुरु गरेको यो परियोजना गत फागुन ८ मा सम्पन्न भएको ऊर्जा मन्त्रालयका इन्जिनियर सञ्जीव रायले जानकारी दिए । चिनियाँ सरकारले यो ऊर्जा निर्माण गर्ने जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र पर्यवेक्षण परामर्शदाताका रूपमा चाइना न्यु एरा इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनलाई दिएको थियो ।

३४ सय १० वटा सोलार प्यानलबाट एक मेगावाटभन्दा बढी क्षमतामा ऊर्जा उत्पादन हुने भए पनि हाल ९५४ दशमलव ७९ किलोवाट मात्रै उत्पादन भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

चीनले सिंहदरबार र वरपरका भवनबाट उत्पादन गरेको सोलार ऊर्जा यसअघि सन् २०११ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले उत्पादन गरेको ६८० किलोवाटको सोलार ऊर्जा पछिको राष्ट्रिय प्रसारणमा जोडिएको सबैभन्दा ठूलो क्षमताको नवीकरणीय ऊर्जा हो । यसबाहेक सोलार प्यालबाटै आगामी एक वर्षभित्रै विश्व बैंकको सहयोगमा नुवाकोटको देवीघाटमा निर्माणाधीन २५ मेगावाटको सोलार ऊर्जा राष्ट्रिय प्रसारणमा जोडिनेछ । विश्व बैंकले तीन करोड ७० लाख अमेरिकी डलर (करिब ३ अर्ब ८० करोड रुपैयाँ) ऋण सहयोगमा एक वर्षभित्रै सक्ने गरी यस्तो ऊर्जा उत्पादनको काम अगाडि बढिरहेको अन्नपूर्ण पोष्टमा खबर छ ।

सोलार ऊर्जा हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सिंहदरबामा मात्रै सीमित नभएर सौर्य ऊर्जा गाउँगाउँसम्म पु¥याउन प्राविधिक सहयोग आवश्यक रहेको बताए । सोलार ऊर्जा अन्तर्राष्ट्रिय बजारमा बर्सेनि सस्तो हुँदै गएकाले सोहीअनुसारको प्रविधि र सेवाको उपयोग गर्ने अवसर नेपालले पनि लिन सक्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । अबको विकास गर्न सौर्य ऊर्जा विस्तारमा जोड दिने र स्थानीयतहसम्म यस्तो ऊर्जा विस्तार हुनुपर्नेमा ओलीले जोड दिए ।

चिनियाँ राजदूत यू होङले सोलार ऊर्जा उत्पादनसँगै चीन सरकारकै सहयोगमा विभिन्न स्थानमा पाँच वटा जलविद्युत् आयोजना र १० वटा प्रसारण लाइन निर्माणाधीन रहेको बताइन् । उनले भनिन्, ‘सोलार बत्ती र प्यालनबाट ऊर्जामा योगदान दिने काम काठमाडौं बाहिर पनि गरिनेछ ।’

सिंहदरबार र आसपासमा रहेका विभिन्न सरकारी निकायबाट उत्पादन भएको यस्तो ऊर्जामा सबैभन्दा बढी वातावरण मन्त्रालयको छतबाट ९४.८ किलोवाट र सबैभन्दा कम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पार्किङ स्थलबाट ११.७६ किलोवाट ऊर्जा उत्पादन भएको जानकारी पनि रोयले दिए । सोलारबाटै विद्युत् आपूर्ति गर्न प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा उक्त ऊर्जालाई जोडेको उल्लेख छ ।

मन्त्रालयका अनुसार सोलर ऊर्जा उत्पादनको ६० प्रतिशत सिंहदरबार भित्रबाट र बाँकी ४० प्रतिशत बाहिरका भवनबाट उत्पादन भइरहेको उल्लेख छ सिंहदरबारबाट पाँच मेगावाटको यस्तो ऊर्जा उत्पादन गर्ने गरी यो योजना सुरु भएको भए पनि छाना नभएका र कौसीमात्र भएका भवन नभएकाले एक मेगावाटमै खुम्चिएको सामाचारमा उल्लेख छ ।

कौसी भएका र सहजता भएका पार्किङस्थलबाट यस्तो नवीकरणीय ऊर्जा उत्पादन गरिएको हो । यस्तो सौर्य ऊर्जा उत्पादन अर्थ मन्त्रालयबाट २८.५५ किलोवाट, परराष्ट्र मन्त्रालयबाट ५१.८ किलोवाट, ऊर्जा मन्त्रालयबाट ५९.३६ किलोवाट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ३९.४८ प्रतिशत, शिक्षा मन्त्रालयबाट ४१.४४ किलोवाट यस्तो सोलार ऊर्जा उत्पादन भएको छ ।

सिंहदरबारभित्रकै के ३ सव स्टेसनबाट ३५.८४ किलोवाट, रेडियो नेपालबाट १२.३२ किलोवाट, काठमाडौं जिल्ला समन्वय समितिबाट ५७.४ किलोवाट, राष्ट्रिय बिमा संस्थानबाट १२.८८ किलोवाट, लोक सेवा आयोगबाट ३४.१६ किलोवाट, महालेखा नियन्त्रण कार्यालयबाट ५९.९२ किलोवाट, क्षेत्रीय हुलाक निर्देशनालयबाट १२.८८ किलोवाट, र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट १७.९२ किलोवाट ऊर्जा उत्पादन भएको छ ।

यसैगरी, राष्ट्रिय योजना आयोगबाट ६१.८८ किलोवाट, राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट ४९.२८ किलोवाट, काठमाडौं जिल्ला अदालतबाट ४५.३६ किलोवाट, कृषि विकास बैंकबाट ९२.१२ किलोवाट र राष्ट्रिय वाणिज्य बैंकबाट ८९.३२ किलोवाट उत्पादन भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत