३३ किलो सुन प्रकरण आरोपी प्रेमराज चौधरीको प्रहरी हिरासत मै मृत्यु

३० चैत्र ०७४, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको भनिएको साढे ३३ किलो सुन प्रकरणमा जोडिएका आरोपी प्रेमराज चौधरी प्रहरी हिरासत  मै मृत अबस्थामा फेला परेका छन् ।

बिहीबार पक्राउ परी महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका चौधरी शुक्रबार बिहान मृत अबस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले हिरासत कक्षमा रहेको बाथरुममा ट्रयाक सुटको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेको थियो । त्यसलगत्तै प्रहरीले उनलाई बीर अस्पतालमा पुऱ्याएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

विमानस्थलमा प्रमुख लोडरको रुपमा कार्यरत चौधरीमाथि तस्करीको सुन बाहिर पठाउन सहयोग गरेको आरोप लागेको छ ।

गत माघ ७ गते हवाईमार्ग हुँदै काठमाडौं भित्रिएको सुन तस्करकै एक समुहले गायब बनाएको र त्यसको खोजी गर्ने क्रममा झापा उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको सुन प्रकरण बाहिरिएको थियो ।

सुन तस्करीको घटनामाथि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले समेत अनुसन्धान गरेको थियो । तर महाशाखाको अनुसन्धानमा कैफियत देखिएको भन्दै एक साता अघि मात्रै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी लगायतलाई हेडक्वार्टर तानिसकेका छन् ।

गृहले सह सचिव ईश्वर पौडेलको नेतृत्वमा उक्त घटनाबारे छानविन कमिटी नै बनाएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अहिलेसम्म सुन तस्करीमा संग्लनता भएको आरोपमा आरके ज्वेलर्सका राजेन्द्र शाक्य सहित १९ जनालाई पक्राउ गरिसकेको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत