जनकपुरमा सडक विस्ताका क्रममा अर्बको क्षति

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा सडक विस्तारका लागि घर टहरा भत्काउने क्रमलाई निरन्तरता दिइएको छ । सडक विस्तारका लागि जग्गा अधिग्रहण र घरटहरा भत्काउँदा सर्वसाधारणको करिब १० अर्बको क्षति भएको महानगरपालिकाले जनाएको छ ।

सडक साँघुरो भएको भन्दै जनकपुर उपमहानगरपालिकाको निर्देशनमा करिब १२ सय भन्दा बढी घर भत्काइएको छ। त्यसैगरी पाँच सय भन्दा बढीको छानो, बारदली र घर अगाडिको पर्खाल भत्काइएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

जनकपुरको शिवचोकदेखि भानुचोकसम्म उपमहानगरपालिकाले डोजर लगाएरै करिब अढाई सय भन्दा बढी घर भत्काएको छ । जनकपुर सुनचाँदी बजारमा समेत करोडौंको मुल्य पर्ने सय भन्दा बढी घर भत्काउने कार्य भइरहेको छ। उपमहानगरपालिकाले जबरजस्ती डोजर लगाउने डरले घरधनीले आफ्नै कामदार लगाएर घर भत्काइरहेका छन् ।

घरटहरा, पसल भत्काउँदा हुने क्षतिको अनुमान करिब १० अर्ब भन्दा बढी भएपनि सडक विस्तारका लागि जनताले बिना कुनै मुआब्जा आफ्नो सम्पत्ति गुमाएकाको र  उपमहानगरपालिका कार्यालयले जग्गा उपलब्ध गराउनेको नाम र विवरण समेत नराखेको सामाचारमा उल्लेख छ ।

उपमहानगरपालिकाका कार्यालयका ईन्जिनियर वीरेन्द्र यादव भन्छन्- ‘विवरण संकलनको जिम्मेवारी हाम्रै हो । तर, थुप्रै कामको चापले गर्दा जग्गा दिनेको नाम संकलन गर्न सकिएको छैन ।’ उपमहानगरपालिकाले सडकको दायरामा पर्ने घर र पसलमा नक्सापास लिई रातो चिन्ह लगाई दिने र सोही अनुसार घर भत्काइदै आएको छ ।

प्रदेशको राजधानीको तयारीमा रहेको जनकपुर करिब दुई वर्षदेखि आन्दोलन, राजनीतिक संक्रमणको मार झेल्दै आएको हो । व्यापार, व्यवसाय चौपट रहेको अवस्थामा झन् सडक विस्तारको क्रममा पसल नै भत्काएपछि व्यापार पूर्ण रुपमा ठप्प हुने जनकपुर उद्योग वाणिज्य महासंघका महासचिव जितेन्द्र महासेठको भनाइ छ ।

उपमहानगरपालिका भित्र हाल एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्तर्गत १ अर्ब भन्दा बढीको लगानीमा ९.२९ किलोमिटर सडक मर्मत र नाला निर्माणको काम सञ्चालित रहेको छ । जस अन्तर्गत १६ मिटर चौडा सडकमा परिक्रमा सडक, विमानस्थलदेखि रेल्वेस्टेशन रहेको छ ।

१३ मिटरको सडकमा कदम चोकदेखि रामानन्द चोक, जानकी मन्दिरको सडक रहेको छ । अर्कोतर्फ सहरी विकास तथा भवन निर्माण कार्यालयको ८३ करोडको लागतमा २७ किलोमिटर सडक निर्माणको कार्य भइरहेको कार्यालयका डिभिजन प्रमुख गंगालाल यादवको भनाइ छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत