हिमाल आरोहणका लागि ६ सय ९८ जनाले आरोहण अनुमति

८ बैशाख ०७५, काठमाडौं । यो वर्षको वसन्तऋतुमा हिमाल आरोहणका लागि ६ सय ९८ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६ सय ९८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।

६ सय ९८ जना मध्ये सगरमाथा आरोहणका लागि ४ नेपालीसहित ३८ वटा टिमका ३ सय ४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन्, भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को यही याममा १ सय ८ टिमका ८ सय ३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ४३ वटा टिमका ३ सय ३६ आरोही सगरमाथा आरोहणमा गएका थिए

सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने विभागले बताएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताए ।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन् ।

यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन् । रासस ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत