जग्गा बेच्न धाउँदै यातायात समिति

काठमाडौं । सरकारले यातायात व्यवस्था समितिहरूका नाममा रहेको सम्पत्ति छानबिन गर्ने भएपछि व्यवसायीलाई छट्पट्टी सुरु भएको छ । समितिको नाममा रहेको जग्गा बेच्न यातायात व्यवसायी धमाधम मालपोत कार्यालय धाउन थालेका आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्दै आएको बूढानिलकण्ठ मिनीबस व्यवस्था समिति जग्गा बिक्री गर्न मालपोत कार्यालय चाबाहिल पुगेको छ । ‘बूढानिलकण्ठ मिनीबस व्यवस्था समितिका नाममा रहेको जग्गा बिक्रीका लागि समितिका कर्मचारी मालपोत कार्यालय आएको मालपोत कार्यालयका प्रमुख बद्रीबहादुर कार्कीले जानकारी दिए ।

संस्था ऐन २०३४ अनुसार दर्ता भएका समितिका नाममा रहेको जग्गा तत्कालको अवस्थामा बिक्री नहुने जानकारी गराएको कार्कीले बताए। साविकको विष्णु गाविस वडा नम्बर ३ को कित्ता नम्बर १०३० को पाँच आना दुई पैसा जग्गा बिक्रीका लागि समितिका कर्मचारी कार्यालय आएका थिए ।

‘समितिका कर्मचारी आफ्नो नाममा रहेको जग्गा कम्पनी मोडलमा दर्ता भएको शिवपुरी बूढानिलकण्ठ यातायात प्रालिलाई बिक्री गर्ने गरी लिखत लिएर कार्यालय आएका थिए’, कार्कीले भने । जग्गा बिक्रीका लागि समितिका कर्मचारी कार्यालय आउनासाथ आफूले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईसँग छलफल गरेको उनी बताउँछन् ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले संस्था ऐन २०३४ अनुसार दर्ता भएका समितिका नाममा रहेको जग्गा बिक्री गर्न जिल्ला प्रशासन कार्यालयबाट सहमति लिनुपर्ने भएकाले सोहीअनुरुप अगाडि बढेको कार्की बताउँछन् ।

आफूले उनीहरूकै सामु विभाग महानिर्देशसँग कुरा गरेपछि समितिका कर्मचारीले जग्गा बिक्रीको लिखत समेत पेस गर्न नसेको उनको भनाइ छ । संस्था ऐन २०३४ अनुसार दर्ता भएका यातायात व्यवस्था समिति आगामी असार मसान्तदेखि नवीकरण नगर्ने सरकारले निर्णय गरिसकेको छ ।

सरकारी निर्णयअनुसार संस्था नवीकरण नभएको अवस्थामा संस्थाका नाममा रहेको सम्पत्ति सरकारको हुन्छ । यसका कारण व्यवसायीले संस्थाको नाममा रहेको सम्पत्ति आफ्नो नाममा सार्न खोजेका छन् । यातायात समिति संस्था ऐन २०३४ अनुसार गैरनाफामूलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता छन्। तर, विभिन्न यातायात समितिका नाममा अर्बौंको सम्पत्ति रहेको सरकारी अनुमान छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत