पेट्रोलियम पदार्थको चुहावट रोक्न ट्यांकरहरुमा लकिङ प्रणाली लागू

११  बैशाख ०७५, भैरहवा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्नका लागि ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरेको छ ।

रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगम भलबारी डिपोमा एक कार्यक्रम बीच  इन्धन बोक्ने ट्यांकरहरुमा लकिङ प्रणाली शुभारम्भ गरिएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)को टोलीसँगको सहकार्यमा लामो अध्ययनपछि नेपालमा पनि यो प्रणाली शुभारम्भ गरिएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

लकिङ प्रणाली लागू हुँदा आगामी दिनमा ट्यांकरबाट हुने इन्धन चोरी, चुहावट पुरै नियन्त्रणमा आउनेछ । यसअघिको शिललाई परिमार्जन गरेर लकिङ प्रणाली (बलियो शिल सहितको चाबी ) शुरु गरिएको निगमले बताएको छ ।

लकिङ प्रणाली सजिलै फुटाउन सकिदैन र यो नखोली तेल निकाल्न मिल्दैन त्यसैले यस्को प्रभाबकारिता बढी देखिने अनुमान गरिएको छ ।

पहिलो चरणमा भारतको सिलिगुडीबाट इन्धन बोकेर नेपाल भित्रिने सबै ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनले भने-‘पछिल्लो समय बीच बाटोमै इन्धन चोरी हुने क्रम बढको छ,अब पूर्णतया बन्देज हुनेछ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले यसलाई सबैलाई पालना गर्नुपर्ने र कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक हुने बताए ।

नेपाल आयल निगम भलबारी क्षेत्रीय (प्रदेश ५) डिपोका प्रमुख अशोक शाहले यो प्रणलीलाई जेठ ३१ सम्म सबै ट्यांकरले अनिबार्य जडान गर्नुपर्ने नगरेमा तेल ढुवानी गर्न नै नपाउने बताए । उनले डिपोबाट अन्यत्र लैजानका लागि पनि अब लकिङ प्रणाली आबश्यक हुने बताए ।

निगमका अनुसार हाल १ हजार ५ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आइरहेका छन् । भलबारी डिपोले ८ जिल्लाका २७० डिपोमा इन्धन पुर्‍याउने गरेको छ ।

आइओसीका कमर्सियल डिपार्टमेन्ट चिफ एसएस बोसले लकिङ प्रणालीको तालाको साँचो आईओसीसँग र निगमसँग मात्रै हुनेहुँदा चोरी पैठारी बन्द हुने बताए ।

निगमले अबको १५ दिनभित्र भैरहवा नाका हुँदै आइओसीको गोन्डा डिपो र नेपालगन्ज नाका हुँदै आइओसीको बेतालपुर डिपोबाट ल्याउने तेलका ट्यांकरमा पनि यसरी ताला लगाउने तयारी गरेको निगमले जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत