हतियार र लागू औषधिसहित सातजना भारतीय नागरिक पक्राउ

१२ बैशाख ०७५, काठमाडौं । मोरङ प्रहरीले हतियार र लागू औषधिसहित सातजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकलमा सवार ६ जना र सोही स्थानमा शंकास्पद अवस्थामा रहेका १ जना मंगलबार साँझ विराटनगरको नोबल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बिहार अररिया बतनाहा ४ का २४ वर्षीय रोहितकुमार शर्मा, फारबिसगञ्जका ३० वर्षीय विनोद यादव, मिल्की डुमरियाका १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलम देवी यादव, सिमराहा बस्ने २६ वर्षीय प्रकाशकुमार दास, रानीगञ्ज बस्ने ३३ वर्षीय रञ्जितकुमार शर्मा र बरारभत नाजा ७ बस्ने ४० वर्षीय सुरजनारायण यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल रोकी चेकजाँच गर्दा अवैध लागू औषध एभिल १७७५ एम्पुल, डाइजेपाम ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्की , नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसिक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल फेला पारेको थियो ।

मोट्साइकल चेक जाच गर्ने क्रममा बिहार अररिया जिल्ला फारबिसगञ्ज २ बस्ने ३० का प्रमोद भन्ने बिनोद यादवको कम्मरको बाया साइडबाट प्रहरीले ‘मेड इन यूएसए’ लिखित अटोमेटिक पेस्तोल र गोली,  ६ वटा मोबाइल र ८१ हजार नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकलसमेत नियन्त्रण्मा लिएको छ । पक्राउ गरिएका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजना अन्तरर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण विसीले बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत