१५ बैशाख ०७५, काठमाडौं । चरो ठोक्किएर करिब ६ घण्टा धनगढी विमानस्थलमा रोकिएको सौर्य एयरलायन्सको जहाज काठमाडौं ल्याइएको छ ।
शुक्रबार चरो ठोकिएपछि बिहान साढे ११ बजेबाट धनगढी विमानस्थलमा ग्राउन्डेड भएको जहाज बेलुकी काठमाडौं ल्याइएको हो ।
शुक्रबार बिहान काठमाडौंबाट ११ बजेर ४० मिनेटमा ११ जना बालकसहित ५४ जना यात्रु बोकेर धनगढीका लागि उडेको सौर्यको जहाजमा धनगढी विमानस्थलदेखि २५ किलोमिटर टाढाको आकाशमा चरो ठोकिएको थियो ।
धनगढी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर रवि यादवका अनुसार करिब साढे ६ हजार फिटको उचाईमा रहेका बेला जहाजको नोज (अगाडिको चुच्चो भाग) मा चरो ठोकिएको थियो । कैलालीमा पर्ने घोडाघोडी नगरपालिकाको आकाशमा चरा ठोकिएको अनुमान गरिएको छ ।