भृकुटी कागज कारखाना सञ्चालनमा नल्याए राष्ट्रियकरण हुन्छ – उद्योगमन्त्री यादव

१५ बैशाख ०७५, काठमाडौं । उद्योग मन्त्री मातृका यादवले गैंडाकोटस्थित भृकुटी कागज कारखाना सञ्चालनमा नल्याए राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् ।

शनिबार पेपर मिल्स परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री यादवले भृकुटी पल्प एन्ड पेपर मिल्स संचालनको जिम्मेवारी लिएको गोल्छा अर्गनाइजेसनले कारखाना नचलाए सरकारले जिम्मा लिने बताएका हुन् ।

मान्त्री यादवले गोल्छा अर्गनाइजेसनलाई कारखाना बन्द गर्न स्वामित्व हस्तान्तरण नगरिएकाले कारखाना वन्द गरेर जग्गा प्लटिङ गर्न कुनै हालतमा नदिइने स्पष्ट पारे ।

चिनियाँ सरकारको लगानीमा बनेको उक्त कारखाना तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कारखाना निजिकरण गरेर गोल्छा अर्गनाइजेशनलाई दिएको थियो र उक्त कारखाना ८ वर्षदेखि बन्द छ ।

गैंडाकोटको मुटुमा रहेको ५२ बिगाह क्षेत्रफल ओगटेको कारखाना बन्द गर्दा नगरको सौन्दर्य बिग्रिएको भन्दै स्थानीयले उक्त स्थानमा ब्यवस्थित पार्क निमार्ण गर्न माग गर्दै आएका छन् ।

मन्त्री यादवले पेपर मिल्सको समस्या पुरानो भएको र देशैभरी रहेका यस्ता समस्या समाधान गर्न प्रधानमन्त्री लगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आदेश पनि भएकोले यसले मूर्त रुप लिने बताए ।

त्यस्तै, गैडाकोटका नगर प्रमुख छत्रराज पौडेलले कारखानालाई राष्ट्रियकरण गरेर सरकारले नै सन्चालन गर्न माग गरे । उनले कारखाना बन्द गर्दा कवाडी खाना जस्तो भएकाले तत्काल सरकारले जिम्मा लिनु पर्ने र गोल्छा अर्गनाइजेसनले प्लटिंग गर्न नदिने प्रतिबद्धता जनाए ।

मजदुरको तर्फवाट स्थानीय जनप्रतिनिधि समेत रहेको हरिप्रसाद ढकालले उद्योगको समस्याहरु बताएका थिए । उनले पनि कागज कारखाना सञ्चालनका लागि राज्यले हस्तक्षेप गर्नुपर्ने धारणा राखे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत