एमाले-माओवादीका आन्तरिक काम ठप्प !

काठमाडौं । एमाले-माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ‘ठप्पप्रायः’ भएको छ ।

पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन् । पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन् । असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले-माओवादीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन् । अहिले दुवै पार्टीसँग संगठन मजबुत बनाउने, जनतासँग जोडिने जनमुखी कार्यक्रम र राजनीतिक अभियान निर्माण गर्नेलगायत कुनै पनि औपचारिक कार्यक्रम छैनन् । पार्टी जीवनसँग जोडिने कुनै विशेष अवसरमा कम्युनिस्ट पार्टीका संयुक्त कार्यक्रम बनाउनेबाहेक अहिले कुनै पनि औपचारिक कार्यक्रम एमाले-माओवादीले प्राथमिकतामै राखेका छैनन् । तर, कुनै पार्टी विशेषका नेता-कार्यकर्ताले पार्टी प्रवेश गर्न चाहे सामान्य कार्यक्रम गरी प्रवेश गराउने काम मात्र हुँदै आएका छन् ।

सबैजसो कार्यक्रम ठप्पप्रायः नै भएको एमाले-माओवादी नेता स्विकार्छन् । एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराई केन्द्रीय सर्कुलरकै आधारमा अहिले एमालेले सदस्यता नवीकरणबाहेक अन्य काम स्थगन गरेको बताउँछन् । ‘एमालेका अहिले धमाधम जिल्ला अधिवेशन, जनसंगठनका अधिवेशन गर्ने समय थियो तर सबै स्थगित गर्न केन्द्रीय सर्कुलर भएकाले रोकिएका छन्’, उनले भने, ‘सदस्यता नवीकरणबाहेक अन्य आन्तरिक काम सुस्ताएको छ ।’

माओवादी केन्द्रको कार्यालयका मुख्यसचिव तथा पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकी पनि आन्तरिक पार्टी काम ठप्पै भएको बताउँछन् । ‘नेता-कार्यकर्ता सबैको काम, ध्यान, प्रतिष्ठा र अपेक्षा सबै पार्टी एकतामा केन्द्रित हुँदा आन्तरिक काम ठप्पै छ’, उनले भने, ‘सदस्यता नवीकरणको काम मात्र केन्द्रीय कार्यालयले गरिरहेको छ ।’

काम नपाउँदा सिंहदरबारमा कार्यकर्ता

एमाले-माओवादीका केन्द्रदेखि जिल्ला, गाउँ तहसम्मका नेता-कार्यकर्ता अहिले सिंहदरबारमा केन्द्रित हुन थालेका छन् । पार्टीले काम दिन नसक्दा टाठाबाठा नेता-कार्यकर्ता सिंहदरबार धाउन थालेका हुन् । पार्टीका एकाध शीर्ष नेताबाहेक अन्यलाई एकता प्रक्रियाका कुनै जिम्मेवारी दिइएको छैन । अझ दुई पार्टीका अध्यक्षबाहेक अन्य नेतासमेत पार्टीभित्रै बेरोजगारको स्थितिमा छन् । यस्तो बेला तल्लो तहका नेता-कार्यकर्ता झनै रुमल्लिइरहेका छन् ।

त्यही भएर पनि नेता-कार्यकर्ता मन्त्रीहरूसँगको भेटघाटमा रमाउने, फाइल बोकेर सिंहदरबारमा मात्र दौडधुपमा लाग्ने काममा तल्लीन हुन थालेको बुझाइ छ, एमाले सचिव योगेश भट्टराईको। ‘अहिले पार्टीका नेता-कार्यकर्ता सिंहदरबारमा देखिन थालेका छन् । स्थानीय जनप्रतिनिधिदेखि पार्टीको जिल्ला नेतृत्वलगायत सबै फाइल बोकेर सिंहदरबारमै कुदेका देखिन्छन्’, उनी भन्छन्, ‘पार्टीले नै काम दिन नसकेपछि बहाना पनि मिलेको छ, बजेट माग्ने भन्ने । यस्तो हुँदा पार्टी संगठन जीवन्त हुन सक्दैन ।’

माओवादी मुख्यसचिव बुढाथोकी पनि नेता-कार्यकर्ता अलमलमा परेको र पार्टी निर्णय पर्खेर बसेको बताउँछन् । ‘पार्टीका काम केही छैनन्, कुनै नयाँ योजना बनेको पनि छैन, सबै अलमलमा रुमल्लिइरहेका मात्र देखिन्छन्’, बुढाथोकी भन्छन्, ‘पार्टी संगठन चुस्त र व्यवस्थित गर्ने योजना पार्टीले नै बनाएको थियो एकता प्रक्रिया लम्बिँदा प्रभावित बनिरहेको छ ।’

टाइमलाइन तोक्न दबाब !

पार्टीका आन्तरिक काम ठप्प हुन थालेपछि नेताहरूलाई एकताको निश्चित ‘टाइमलाइन’ तोक्न उत्तिकै दबाब पर्न थालेको छ । कार्यकर्ताले एकता प्रक्रिया लम्बिएर समय मात्र लिँदा पार्टी आन्तरिक जीवनमा ह्रास आएको भन्दै नेतामाथि दबाब बढाउन थालेका छन् । ‘लामो समयसम्म पार्टी एकता नहुँदा समस्या आउँछ । मनोविज्ञान पनि स्थिर छैन, यसले आन्तरिक कमिटी प्रभावित भइरहेको छ’, एमाले सचिव भट्टराईले भने, ‘नेतृत्वले अब एकताको टाइमलाइन तोक्न ढिला गर्नु हुँदैन । निश्चित टाइमलाइन बनाएर एकताको कोर्स पूरा गर्नुपर्छ ।’

एकता प्रक्रिया लम्बिए पार्टीका रोकिएका आन्तरिक काम सुचारु गर्ने र छिटो टुंगिने भए त्यहीअनुसार दुवै पार्टी नेतृत्वले योजना बनाउनुपर्ने भट्टराईको भनाइ छ । माओवादीमा पनि त्यस्तै छ । माओवादीले दुई वर्षअघि माओवादी धारका १० पार्टीसँग एकता गरेपछि भद्रगोल बनेको पार्टी संगठनको वास्तविक तथ्यांक राख्न र आन्तरिक संगठन मिलाउन संगठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

त्यस्तै, चुनावी अन्तर्घात छानबिन गर्न पनि अमिक शेरचन नेतृत्वमा गठित अर्को छुट्टै कार्यदलले काम गरिरहेको थियो । अहिले दुवै कार्यदलका काम प्रभावित भएका छन् । दुवै कार्यदलका एकाध बैठक बस्नेबाहेक अन्य काम एकता प्रक्रियाकै कारण प्रभावित भएको कार्यालयका मुख्यसचिव बुढाथोकी बताउँछन् । ‘पार्टीको आन्तरिक समितिका काम गर्ने जिम्मेवारी थियो, ती समितिका एकाध बैठक पनि भए। तर, पछि पार्टी एकताका कारण अहिले सबै काम प्रभावित भएको छ’, उनले भने ।

एमाले-माओवादीको एकता कहिले हुने मिति टुंगो लागेको छैन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मात्र अहिले छलफल भइरहेको छ । नमिलेका विषय मिलाएर पार्टी एकता संयोजन समिति बैठकमा आउन नेताद्वयलाई जिम्मेवारी दिइएको छ । तैपनि, दुई अध्यक्षबीचको छलफल अझै टुंगिन नसक्दा एकता प्रक्रिया लम्बिइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत