मजदुर दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना :श्रमजीवीको योगदानप्रति उच्च सम्मान प्रकट

१८ बैशाख ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेर श्रमजन्य कार्यमा संलग्न रहेका सम्पूर्ण श्रमजीवीलाई सुख, समृद्धि र मर्यादित जीवनका लागि शुभकामना दिएका छन् ।

मंगलबार १२५ औंँ मजदुर दिवसको अवसरमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै शुभकामना दिएका हुन् ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यस अवसरमा नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले परिश्रममा विश्वास गर्ने आम श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशको समग्र विकास र आर्थिक सामाजिक रूपान्तरण सम्भव नहुने भएकाले  वर्तमान सरकार देशमा श्रमको सम्मान गर्ने र सबै प्रकारका श्रम शोषणको अन्त्य गर्ने दिशामा अग्रसर रहेको बताए ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ- ‘श्रम ऐन–२०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको छ । सरकार योगदानमा आधारित सामाजिक सुरक्षा परियोजनाको कार्यकममा सम्पूर्ण श्रमिकलाई समेट्न अग्रसर छ । त्यसक्रममा सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ ।’

प्रधानमन्त्रीले अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भएको र श्रम शोषणको शिकार हुन विवश भएको समेत उल्लेख गरेका छन् ।

राष्ट्र निर्माणको दिशामा मजदुर वर्गको भूमिकाको उच्च मूल्यांकन गर्दै प्रधानमन्त्रीले नेपालको संविधानमा नै पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर वर्गको श्रमको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरिएको बताएका छन् ।

प्रधानमन्त्रीले कुनै पनि निर्माणका आधार भनेका श्रमजीवी वर्ग नै भएको जनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने आधार पनि श्रमिक वर्ग नै रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत