३३ किलो सुन प्रकरण: एसएसपी लोहनी पक्राउ

१९ बैशाख ०७५, काठमाडौं । ३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी दिवेश लोहनीलाई पक्राउ गरेको छ ।

मंगलबार बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका लोहनीलाई पक्राउ पुर्जी थमाएर अदालत पेस गरिएको हो । पक्राउ पुर्जी थमाएसँगै उनीविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी मोरङ प्रहरीले दिएको छ ।

महानगरीय अपराध महाशाखा प्रमुख रहेको बेला एसएसपी लोहनीले नै सनम शाक्यको हत्यापछि अनुसन्धानलाई नेतृत्व दिएर अगाडि बढाएका थिए ।

लोहनीले शाक्यको हत्याबारे अनुसन्धान गर्न र तस्करीका मुख्य नाईके भनिएका गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई मोरङ पठाएका थिए ।

घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसँग ‘कनेक्सन’ देखिएको भन्दै यस अघि अवकाश प्राप्त पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का पक्राउ परिसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत