देशभर मदिरा नियन्त्रण अभियान चलाउने गृहमन्त्रीको तयारी

२३ बैशाख ०७५, काठमाडौं ।  गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ ।

गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्रि वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो ।

आइतबार गृहमन्त्रीले गृहमन्त्रालयमा बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेता र महिला सांसदहरुसँग सो विषयमा छलफल गरेका हुन् ।

छलफलमा गृहमन्त्री बादलले समाज, परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै गृह मन्त्रालयले यसको नियन्त्रण गर्ने तयारी थालेकाले यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग आग्रह गरे ।  उनले पछिल्लो समयमा बढिरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको बताए ।

गृहमन्त्री थापाले देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहने गरी समिति गठन गरी वडा स्तरबाटै मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने र यसको लागि मन्त्रालयले विस्तृत खाका बनाईरहेको बताए ।

गृहमन्त्री थापाले विकास र समृद्धिको बाधक तथा भ्रष्टचारको कारक  मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गर्न तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरिरहेको  बताए । उनले मदिरा नियन्त्रणको जागरण अभियानसँगै  भण्डाफोर कार्यक्रम आयोजना गर्ने बताए ।

त्यस्तै, बैठकमा मन्त्री थापाले  अनुमति नलिई र मापदण्ड नपु¥याई सञ्चालनमा ल्याईएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरिने बताए । मन्त्रालयले मदिरा नियन्त्रण सँगै लागुऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानको रुपमा लैजाने तयारी गरिरहेको बताए ।

छलफलमा महिला नेताहरुले मदिराबाट सबैभन्दा बढी पिडीत महिला रहेको भन्दै आफुहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताउँदै पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत