२४ बैशाख ०७५, काठमाडौं । हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
सोमबार बिहान श्रीनिवासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ परेका हुन् ।
आचार्य पक्राउसँगै आचार्यका अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी, गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
पक्राउ परेका आचार्यका अंगरक्षकहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएको मोरङका एसपी अरुण बीसीले बताए ।
आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो ।