पर्सामा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते, उक्साएको आरोपमा उपप्रमुख पक्राउ

२४ बैशाख ०७५, विरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

जिल्लाको जिराभवानी गाउँपालिका–२ सेढवामा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै पुगेका स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको हो ।

झडपमा  प्रहरी नायव निरीक्षक राजेश चौधरी, प्रहरी साहयक निरीक्षकहरु गोपाल  खड्का, सुकेश्वर महत्तो र शम्भु यादव तथा प्रहरी जवान जयप्रकाश यादव घाइते भएका छन् ।  उनीहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको बताए ।  उपरीक्षक  लिम्बुले प्रहरीले सम्झाइ– बुझाइ गर्ने धेरै प्रयास गर्दा पनि  केहि उछृङ्खल व्यक्तिहरुले प्रहरी माथि ढुंगामुढा गर्ने, प्रहरीको मोटरसाइकलमा आगजनी गर्ने जस्ता अपराधिक क्रियाकलाप गर्न थालेपछि १२ राउण्ड हवाई फायर  गरेर भीडलाई तितरबितर बनाएको बताए ।

स्थानीयले प्रहरीले प्रयोग गर्दै आएको बा २ ब ५७०५ नम्बरको मोटरसाइकल र प्रहरी चौकी पाडेपुरको ना १४ प ४५७७ नम्बरको मोटरसाईकलमा आगजनी गर्नुको साथै प्रहरी कार्यालय परिसरभित्र रहेको टहराहरु समेत भत्काइ दिएका छन् ।

प्रहरीले ठोरी ४ सुवर्णपुर बस्ने २३ वर्षीय सुबा लामा र २५ वर्षीय दिनेश लामालाई मोबाइल चोरी आरोपमा नियन्त्रणमा लिएको थियो भने बेतिया घर भएका २२ बर्षिय बजरंगी गौरो, राम प्रवेश गौरो, २१ वर्षीय वीरम्भर गौरो र दयाल महतोलाई मदिरा सेवन गरी एउटै मोटरसाइकलमा यात्रा गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

यसैबीच, प्रहरीले स्थानीयलाई तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका भारतीय मध्येका एक जना उप–प्रमुख चौधरीको नातामा ज्वाइँ पर्ने व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको र उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत