२४ बैशाख ०७५, काठमाडौं । श्रम स्वीकृति बिना काम गरेको आरोपमा पक्राउ परेका ११ जना उत्तर कोरियालीलाई कुनै अनुसन्धान र छानबिन नगरी अध्यागमन विभागले रिहा गरेको छ ।
आइतबार अध्यागमन विभागले गैरकानुनी ढंगले काम गरेको प्योङयाङ आरिराङ रेस्टुरेन्टको छानबिन र स्थलगत अध्ययन नै नगरी उनीहरूलाई दूतावासको जिम्मा लगाएको हो ।
शुक्रबार साँझ पक्राउ परेका ती ११ जना उत्तर कोरियालीलाई प्रहरीको महानगरीय अपराध महाशाखाले थप अनुसन्धान र कारवाहीका लागि आइतबार अध्यागमनमा बुझाएको थियो ।
अध्यागमनले अनुसन्धान र बयान लिने औपचारिकता पूरा गर्दै आइन्दा प्रवेशाज्ञा (भिसा) दुरुपयोग नगर्ने लिखित सर्तमा उनीहरूलाई काठमाडौंस्थित उत्तर कोरियाली दूतावासको जिम्मा लगाएको छ ।