श्रीनिवासलाई हातहितयार खरखजना मुद्दा

२५ बैशाख ०७५, काठमाडौं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले हातहितयार खरखजना मुद्दा अघि बढाएको छ ।

सोमबार काठमाडौँबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेको हो ।

धर्म गुरु आचार्यलाई सोमबार काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी विराटनगर लगिएको थियो । उनी भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका थिए ।

मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरिएको बताए । जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दामा आरोप प्रमाणित भएमा १ बर्ष कैद १ लाख रुपैयाँ जरिवाना या दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

श्रीनिवास माथि उनकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका थिए ।

त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।

‘मलाई गुरु श्रीनिवासाचार्यले गोली हान्न सिकाइ धर्म र देशका लागि केही गर्नुपर्छ भनी उनले नै उक्साई गोलीसहितको पेस्तोल दिई हातैमा हान्न लगाएका हुन्’, प्रहरीलाई दिएको बयानमा चौधरीले भनेका थिए ।

त्यसैगरी अधिकारीले पनि प्रहरीसँगको बयानमा आफैँले पेस्तोल उपलब्ध गराएको बताएका थिए । उनले पत्रकार सम्मेलनमा पनि सोही कुरा दोहोर्‍याए । ‘मैले नै घरमा राखिएको गोलीसहितको पेस्तोल गुरु श्रीनिवासले भनेपछि पठाएको हुँ’, उनले प्रहरीसँगको बयान र पत्रकार सम्मेलनमा भनेका थिए ।

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत