भारतीय सुरक्षाकर्मी काठमाडौंमा

२६ बैशाख ०७५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अत्याधुनिक हतियारसहितका भारतीय सुरक्षाकर्मी काठमाडौं आएका छन् ।

भारतीय मन्त्रिपरिषद् सचिवालय अन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) अन्तर्गतका अत्याधुनिक हतियारसहितका ४१ जना सुरक्षाकर्मी काठमाडौं आएका हुन् ।

नेपालमा रहँदा मोदीले चढ्ने दुईवटा बुलेट प्रुफ गाडीसमेत भारतीय पक्षले नै ल्याएको छ । भारतीय वायुसेनाको चार्टर जहाजले मंगलबार मोदी भ्रमणका लागि आवश्यक सुरक्षाकर्मी, हतियार, गाडी लगायत सामग्री ल्याएको हो ।

हतियारसहित नेपाल आएका भारतीय सुरक्षाकर्मी नेपाली सेनासँगको समन्वयमा मोदीको सुरक्षाका लागि अग्रस्थानमा खटिनेछन् । भारतीय पक्षले प्रधानमन्त्री मोदी जाने स्थान जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा पनि बेग्लाबेग्लै समूहमा सुरक्षाकर्मी खटाएको छ ।

मोदीको सुरक्षाका लागि ल्याइएका हतियारको संख्या र प्रकृतिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयलाई लिखित जानकारी गराएको भन्सार विभाग स्रोतले बताएको छ ।

लिखित पत्रमा भारतीय पक्षले ती हतियार प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ल्याइएकोे र भ्रमण सकिएपछि फिर्ता लैजाने उल्लेख छ । भारतीय सुरक्षाकर्मी मोदी जाने जनकपुर, काठमाडौं र मुक्तिनाथमा नेपाली सेनाको समन्वयमा खटिनेछन् ।

अहिले पनि नेपालस्थित भारतीय दूतावासका सुरक्षा अधिकारी र भारतबाट मोदी भ्रमणको रेकी गर्न आएको सुरक्षा टोलीले संयुक्त रूपमा तीनै स्थानको सुरक्षा अवस्थाबारे विश्लेषण गरिरहेको छ ।

सुरक्षाकर्मीले भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने जनकपुरको बाह्रबिघा र काठमाडौंको राष्ट्रियसभा गृह वरपरको सुरक्षा अवस्था कडा बनाएका छन् ।

मोदी भ्रमणको पूर्वसन्ध्यामा केही विरोध र असन्तुष्टि बढिरहेका बेला नेपाल–भारत संयुक्त सुरक्षा टोलीले सम्भावित सुरक्षा थ्रेट पहिचान गरी त्यसैअनुरूप सुरक्षा योजना बनाइरहेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत