मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकोप्टर किन्दै सेना

२६ बैशाख ०७५, काठमाडौं । आफैले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।

फ्रान्समा बनेको इक्वेटर हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’ का लागि पाइलट र इन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ । ‘हेलिकोप्टर भित्र्याउनु पहिले प्रि–डेलिभर इन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागोके हो’, सैन्य स्रोतले भन्यो ।

नेपालबाट गएको प्राविधिकसहितको टोलीले जाँच गरेर सहमति जनाएपछि उक्त हेलिकोप्टर ल्याइने सेनाले जनाएको छ । नेपाली सेनाले २५ लाख ६८ हजार तीन सय ७६ युरोमा उक्त हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो ।

सेनाले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि लाइट हेलिकोप्टर खरिद गर्न बोलपत्र माग गरेको थियो । ३१ लाख ९० हजार आठ सय ७२ युरो लागत अनुमान स्वीकृत गरी सेनाले बोलपत्र माग गर्दा फ्रान्स र अमेरिकाको हेलिकोप्टर निर्माता कम्पनिले बोलपत्र पेस गरेका थिए ।  तीमध्ये फ्रान्सको कम्पनीका तर्फबाट सिंगापुरस्थित एक एजेन्टले कम अर्थात् २५ लाख ६७ हजार तीन सय ७६ युरो कबोल गरेपछि सेनाले सोही कम्पनीको बोलपत्र स्वीकृत गरेको हो ।

२०७३ असार १६ मा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई एउटा मध्यम र दुईवटा लाइट हेलिकोप्टर खरिद गर्न स्वीकृति दिएको थियो । त्यसमध्ये दुईवटा लाइट हेलिकोप्टर खरिद गर्नेगरी बोलपत्र आह्वान गरे पनि सेनाले एउटामात्र इक्वेटर हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो । दुईवटा हेलिकोप्टर खरिद गर्ने बोलपत्र माग गरी खरिद प्रक्रियामा गइसकेको अवस्थामा सेनाले पर्याप्त कारण नदिई एउटामात्र खरिद गर्ने निर्णय गरेको थियो ।

सेनाले अर्को हेलिकोप्टर खरिदका लागि अमेरिकाको वेल हेलिकोप्टर कम्पनीसँग सम्झौता गरिसकेको छ । वेल कम्पनीले सेनालाई हेलिकोप्टर बिक्रीका लागि आर्थिक प्रस्ताव पेस गरेपछि उक्त कम्पनीसँग ३८ लाख खमेरिकी डलरमा हेलिकप्टर खरिद गर्ने सम्झौता सेनाले गरिसकेको छ ।

मन्त्रिपरिषद्बाट समेत भएको निर्णयविपरीत सेनाले फरक ‘स्पेसिफिकेसन’को हेलिकोप्टर खरिद प्रकरणसम्बन्धी यस विषयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत प्रश्नचिह्न उठाइएको छ । महालेखाले सेनाका निर्णय मनासिब नभएको जनाएको आजकोे नागरिकमा खबर छ ।

सेनाले भने खरिद गर्न लागेका दुवै हेलिकोप्टरका आ–आफ्नै विशेषता भएको र दुवै हेलिकोप्टरलाई फरकफरक परिवेशमा प्रयोग गर्न सकिने जनाएको छ ।

सेनाले फ्रान्स तथा अमेरिकी कम्पनीबाट खरिद गर्न लागेको इक्वेटर तथा वेल हेलिकोप्टरमा यात्रु बोक्ने तथा उच्च भूभागसम्म जानसक्ने आआफ्नै विशेष भएकाले फरकफरक हेलिकप्टर खरिद गर्ने निर्णय गरेको दाबी गरेको छ । ‘फरक स्पेसिफिकेसनका हेलिकोप्टर खरिद गर्नुका पछाडि कुनै स्वार्थ छैन बरु फरकफरक विशेषता भएका हेलिकोप्टर ल्याउँदा त्यसबाट दिन सकिने सेवामा विविधता हुन्छ,’ सैनिक प्रवक्ता गोकुल भण्डारीले भने ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत