वीरगन्ज-काठमाडौं रेल : कोरियनलाई रोकेर भारतीयको हातमा

काठमाडौं । सरकारले कोरियन कम्पनी सुसुङलाई प्रारम्भिक अध्ययनको जिम्मा लगाउन थालेको काठमाडौं – वीरगन्ज रेलमार्गको काम भारतीयले थालेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

बिहीबार भारतीय प्राविधिकको टोलीले काठमाडौंंको चोभार क्षेत्रमा रेलस्टेसन राख्ने ठाउँको निरीक्षण गरेको छ । भारतीय प्राविधिकको आँखामा रेलस्टेसनका लागि चोभारको हिमाल सिमेन्ट भएको स्थान परेको रेल विभागका प्रवक्ता प्रकाश भक्त उपाध्यायले बताए ।

यसअघि सरकारले चोभारमै अन्तर्राष्ट्रिय प्रदर्शनी हल र सुक्खा बन्दरगाह बनाउने घोषणा गरेको थियो । काठमाडौं–वीरगन्ज रेलमार्ग नेपालका निम्ति अहिलेसम्मकै सबैभन्दा उपयुक्त रेलमार्गको लाइनका रूपमा चिनिएको छ । रेल विभागले यो मार्गको सम्भावित रेखांकन गरेर रूट तय गर्ने प्रयास गरेको हो । सोही रेखाङ्कनलाई आधार मानेर विस्तृत परियोजना अध्ययन (डीपीआर) हुने भएकाले पनि भारतीय पक्षले आफैं रेखाङ्कन तय गर्ने भएपछि कोरियनको प्रस्ताव रोकिएको थियो ।

रेल विभागले काठमाडौं–वीरगन्ज रेलमार्गको अध्ययन गर्न प्रस्ताव मागेको थियो । सात कम्पनीमध्ये कोरियाली कम्पनी सुसुङ अध्ययनका लागि छानियो । उक्त कम्पनीलाई रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा दिन रेल विभागले गरेको तयारी सरकारी निर्देशनका कारण रोकिएको छ ।

भारतले बनाउने घोषणापछि अहिलेलाई प्रारम्भिक सम्भाव्यता अध्ययनको काम रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रराज शर्माले बताए । ‘रेल विभागले कम्पनी छनोट गरेर सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा भारतसँग रक्सौल–काठमाडौं रेलमार्गको सम्झौता भयो’, उनले भने, ‘यो सम्झौतापछि भारतले रेलमार्ग बनाइदिने भयो । जसले गर्दा प्रारम्भिक अध्ययनको काम अहिले स्थगन भएको छ ।’

रेल विभागले कोरियन कम्पनीसँग ६ महिनाभित्रै सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको थियो । चैत तेस्रो साता भारतीय पक्षसँगको सहमतिपछि विभागको तयारी रोकिएको सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता उपाध्यायले बताए । ‘हामी काठमाडौंबाट वीरगन्जसम्मको एक सय किमि दूरीमा अध्ययन गरेर रेलको रूट तय गर्ने पक्षमा थियौं’, उनले भने, ‘हामीले दिएकै रूटमा भारतीय पक्षले रेलमार्ग बनाउँदा सकारात्मक सन्देश जाने थियो । हाम्रो आवश्यकताअनुसारको मार्ग पनि बन्थ्यो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणमा रेलमार्गका विषयमा छलफल हुने र उपयुक्त निर्णय आउने अपेक्षा छ । यो रेलमार्ग निर्माण भएको अवस्थामा काठमाडौं—तराई द्रुतमार्ग दुई लेनको भए पुग्छ । निर्माणाधीन निजगढ विमानस्थलका निम्ति पपिन सहयोगी हुनेछ । एक सय किलोमिटरको यात्रा तय गर्दा गन्तव्यमा छिटो पुग्न सहयोगी हुने उल्लेख छ । यो रेलमार्ग निर्माण गर्दा विभागले ब्रोडगेजको प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा दौडन सक्ने क्षमतालाई आधार बनाएर अध्ययन गर्ने तयारी गरेको छ ।

भारतको आर्थिक सहयोगमा बन्ने विद्युतीय रेलमार्गको एक वर्ष (आगामी चैतभित्रै) नेपाल सरकारसँगको परामर्शमा तयारी सर्वेक्षण, निर्माण मोडालिटी तथा विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । भारतकै सहयोगमा जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण भइरहेको छ । यो रेलमार्ग सन् २०१८ भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जयनगर–बिजलपुरा–बर्दिवास र जोगबनी–विराटनगरको सीमा रेलमार्ग पनि भारतीयले नै बनाउने गरी प्राथमकितामा राखिएको छ । शुक्रबारबाट हुने मोदीको दुईदिने भ्रमणमा यो रेलमार्ग पनि छलफलमा पर्ने र उपयुक्त निर्णय आउने अपेक्षा छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत