छिन्नमस्ता गाउपालिका–३जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा, प्रदेश २ कै पहिलो वडा

३१ बैशाख ०७५, राजविराज । धार्मिक तिर्थस्थलको रुपमा परिचित सप्तरीको छिन्नमस्ता गाउपालिका–३ जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा भएको छ ।

सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छिन्नमस्ता गाउँपालिका–३ लाई जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा गरेका हुन् । जातिय विभेद र छुवाछुत मुक्त घोषणा हुने सो वडा प्रदेश २ कै पहिलो वडा बनेको छ ।

मन्त्री साहले पानसमा दिप प्रज्जवलन तथा जातिय विभेद र छुवाछुत मुक्त लेखिएको ब्यानर पढेर जातिय विभेद तथा छुवाछुत मुक्त वडा घोषणा गरेका हुन् ।

मन्त्री साहले कुरिति र कुसंस्कारका रुपमा रहेको जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्न निरन्तर क्रियाशिल रहने सवै प्रति धन्यवाद दिदै प्रदेश सरकारले ठोस रणनीति निर्माण गरी अघि बढने प्रतिबद्घता जनाउँदै छुवाछुतको व्यवहारलाई कानुनले नै निषेध गरेकाले यसलाई पूर्ण निषेधका लागी स्थानिय जनप्रतिनिधि, सामुदायका अगुवा बुद्घिजिवी, पत्रकार लगायत सवैले योगदान दिनु बताए ।

पछयौटेपन र चेतनाको कमी सँगै जातिय विभेद र छुवाछुतको भयाबह अवस्था रहेको वडामा मधेशी दलित विकास महासंघले अवाज परियोजना अन्तर्गत वडा कार्यालयको समन्वयमा २ वर्ष सम्म जातिय विभेद र छुवाछुत विरुद्घ जागरण अभियान चलाएको थियो । अभियान अन्तर्गत मानव अधिकार मैत्री गाउँको मुल सन्देश र सूचकसहितको होडिङ्ग बोर्ड स्थापना, सुचना सामग्री प्रकाशन र वितरण, स्थानिय एफ.एम. रेडियोबाट सन्देश प्रवाह, सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी र घरदैलो लगायतका कार्यक्रम गरिएको थियो ।

सो प्रयास सफल भएपछि जातिय विभेद र छुवाछुत रहित वडा घोषणा गरिएको मधेशी दलित विकास महासंघका केन्द्रिय अध्यक्ष विश्वेश्वर रजकले बताए ।

मधेशी दलित विकास महासंघ सप्तरीका कार्यक्रम संयोजक दिपेन्द्र पासवान दिपुले एकाईसौ शताब्दीमा पनि जातका आधारमा मानवीय विभेद हुुनु दुर्भाग्यपूर्ण भएको भन्दै आफुहरुले आगामी दिनमा समेत जिल्लाका अन्य वडा, गाउँ र नगरपालिकामा यसका लागी सक्रियता साथ पहल गर्ने बताए ।

वडा अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित घोषणा सभामा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नरायण मण्डललगायतले जातिय विभेद र छुवाछुत अन्त्यका लागी मिलेर काम गर्ने साझा प्रतिबद्घता व्यक्त गरेका थिए । उनीहरुले अन्य वडा, गाउँ र नगरले पनि कार्य योजना बनाएर अघि बढनु पर्ने सुझाव पनि दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत