गृहमन्त्रीको निर्देशन : सडक र ट्राफिक व्यवस्थापनका निर्णय कार्यान्वयन गर्नु

२ जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका विषयमा गरिएका निर्णयहरुलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले बुधबार विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा यसअघिका निर्णयहरुको कार्यान्वयन फितलो देखिएको भन्दै कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्रीले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कार्यान्वयन भए नभएको विवरणसहित आउन निर्देशन दिएका छन् ।

उनले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने र सम्पन्न भएका कामहरु कमसल देखिए स्थानका ठेकेदारहरुको सूचि समेत बनाउन निर्देशन दिए ।

‘त्यस्ता ठेकेदारहरुको सूचि बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस्’ मन्त्री थापाले भने ।

यस्तो छ, यसअघिको बैठकको निर्णय :

गृहमन्त्रालय सम्हाले लगत्तै सडक दुर्घटना र ट्राफिक जाम न्युनीकरण, धुलो, धुँवा हटाउने विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले गत फाुगन २९ गते, चैत १ गते र चैत ४ गते बैठक बोलाएका थिए ।

गत फागुन २९ गते बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री संयोजक तथा गृह मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, सूचना तथा सञ्चार मन्त्रालयका सचिव, शहरी विकास मन्त्रालयमा सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुख सदस्य रहने गरी निर्देशन तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो ।

यस्तै गत चैत १ गते गृह मन्त्रालयमा बसेको बैठकले उपत्यकाभित्रका ‘जेब्रा क्रसिङ’ भएका ठाउँमा तत्काल रंगरोगन गरेर चिह्न राख्ने, ठूला सवारी साधन (मालबाहक गाडी)का लागि चक्रपथ बाहिर पार्किङको व्यवस्था मिलाउने र त्यसको प्रक्रिया सम्बन्धित महानगर र नगरपालिकाले मिलाउने निर्णय गरेको थियो ।

सोही बैठकले चक्रपथभित्रका ‘ड्राइभिङ सेन्टर’, र गाडी मर्मतका लागि खोलिएका ‘वर्कशप’लाई चक्रपथ बाहिर सार्नका लागि सम्बन्धित महानगरपालिका, नगरपालिका र ट्राफिक प्रहरीले नेतृत्व गर्ने, पर्यटक बसलाई कान्तिपथबाट तत्काल हटाउनका लागि काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीले समन्वय गर्ने, उपत्यका बाहिर जाने गाडीको बसपार्क सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले मिलाउने निर्णय बैठकले गरेको थियो ।

बिगे्रका गाडीहरुले सवारी आवागमनमा अवरोध पु¥याउने कार्य बढ्दो रहेकाले यसलाई व्यवस्थित गर्न विभिन्न चार ठाउँमा ‘¥याकर’ को व्यवस्था गर्ने, टेलिफोन, इन्टरनेट र केबलका तार जथाभाबी राख्ने प्रवृत्ति निरुत्साहित गर्न सूचना तथा सञ्चार मन्त्रालय र सम्बन्धित महानगरपालिकाको समन्वयमा व्यवस्थित गर्ने, सवारी चाप कम गर्न यात्रु चढाउने र ओराल्ने मात्र गर्ने, पार्किङ गरी सडकमा जाम गर्नेलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको थियो ।

तर बैठकले निर्णय गरेको दुई महिना बित्दा समेत अधिकांश निर्णयहरु कार्यान्वयन नभएपछि गृहमन्त्री थापाले बुधबारको बैठकमा ती निर्णयहरु तत्काल कार्यान्वयन गर्न बैठकमा उपस्थित पदाधिकारीहरुलाई निर्देशन दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत