तरकारीमा रहेको सिण्डिकेट समाप्त गर्छौं- मन्त्री खनाल

२ जेठ ०७५,काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तरकारीमा रहेको सिण्डिकेट समाप्त पार्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले  सो कुरा बताएका हुन् ।

मन्त्री खनालले तरकारीमा देखिएको सिण्डिकेट अन्त्य गर्न कृषि खेती नगरी काठमाडौंको कालिमाटी तरकारी बजार कब्जामा लिने दलालहरुलाई हटाई  जसले तरकारी उत्पादन गर्छ उसैलाई कालिमाटी तरकारी बजारमा बिक्रिका लागि स्टल उपलब्ध गराउने योजना मन्त्रालयले ल्याउन लागेको बताए ।

किसानले उत्पादन गरेको तरकारी खेतबाट सिधै बिक्री केन्द्रसम्म ल्याउन सरकारले सहुलियत अनुदानमा कृषकलाई गाडी उपलब्ध गराउन लागेको बताउँदै कृषकको बारिबाटै सुरु गर्ने तरकारीको सिण्डिकेट तोडेरै छाड्ने बताए । उनले भने -‘केही समय लाग्ला तर तरकारीको सिण्डिकेट तोड्नैपर्छ ।’

त्यस्तै, मन्त्री बलदेवले  कृषकलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको खुलासा गर्दै भने- ‘किसानलाई पेन्सन दिनुपर्छ, अनुदान पनि दिनुपर्छ, सिधै किसानको खातामा पैसा जाने गरि पेन्सन पठाउने व्यवस्था हुन्छ ।’

नेपालमा ६६ प्रतिशत नागरिक कृषिमा आधारित रहे पनि कृषि क्षेत्रको आधुनिकिकरण हुन नसक्दा उनीहरुको अवस्था अझै दयनीय  रहेको भन्दै त्यसका लागि सरकारले विशेष योजना ल्याउन लागेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत