एमाले-माओवादी एकीकरण र नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन (घाेषणाकाे पूर्ण पाठसहित)

३ जेठ ०७५, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिहीबारदेखि औपचारिकरुपमा एक भएको छ । दुई पार्टीको एकतासँगै नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।

पार्टी एकतासँगै एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रको २१औं शताब्दीको जनवाद सम्बन्धि सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी ‘समाजवाद उन्मुख जनताको जनवाद’का रुपमा अघि बढाइने भनिएको छ ।

नेता माधवकुमार नेपालले पार्टी एकताको ६ बुँदे घोषणापत्र वाचनका क्रममा परिवर्तित नयाँ सन्दर्भमा पार्टीको तत्कालीन सैद्धान्तिक एवम् राजनीतिक मान्यता ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

घोषणापत्र – पूर्णपाठसहित

एमाले र माओवादीको एकता महान् छलाङ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यसअघि भएका एकताहरु मात्रामा र अहिले भएको एमाले–माओवादी एकता गुणको एकता भएको बताए ।

यस अघिका भएका हरेक एकतामा उत्साहित देखिने अध्यक्ष प्रचण्डले आजको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा निकै भावुक भई दुई पटकसम्म गला अवरुद्ध पार्दै एमाले र माओवादीको एकता महान् छलाङ भएको बताए ।

हाइड्रोजन र अक्सिजन मिलाएपछि, पानी बनेपछि छुट्याउन नसकिने भन्दै प्रचण्डले भने, ‘अब न एमाले भेटिन्छ, न माओवादी भेटिन्छ, अर्कै यौगिक बनिसक्यो ।’

हिन्द महासागरमा कोशीको, गण्डकीको पानी छुट्याउन सकिन्न

यसैगरी प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र भन्ने पार्टी एक अर्काका बिलिन भएको भन्दै हिन्द महासागरमा गएर कोशीको, गण्डकीको पानी छुट्याउन नसकिने बताए ।

‘हिन्द महासागरमा गएर कोशीको, गण्डकीको पानी कुन हो भनेर छुट्याउन सकिन्न् त्यस्तै एमाले र माओवादी केन्द्र दुवै पार्टी एकअर्कामा विलिन भएका छन् । बंगालको खाडीमा गएर खोज्ने प्रयास नगरौं ।’

कम्युनिष्ट सिद्धियो भनेर हेप्ने भन्दै काँग्रेसलाई लक्षित गर्दै अध्यक्ष ओलीले हिउँदमा स्याउको रुखको पात झर्दा रुख मरेजस्तो लागेपनि पछि स्याउ लटरम्म फल्ने बताए । उनले कम्युनिष्ट पार्टी पनि अब त्यस्तै भएको बताए ।

‘हिउँदमा स्याउको रुखको पात झर्यो भन्दैमा रुख मर्यो कि जस्तो लाग्छ । तर पछि लटरम्म स्याउ फल्छ । कम्युनिष्ट पार्टी पनि अब त्यस्तै भएको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘ देअर इज नो विन्टर सिजन फर कम्युनिष्ट ।’

सबै तहमा एकल बहुमत

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको केन्द्र सरकार, प्रदेश र स्थानीय तहमा एक्लै बहुमत भएको बताए । ‘अब केन्द्रीय संसद, ६ वटा प्रदेश र स्थानीय तह सबैमा एक्लै बहुमत भएको छ ।’ उनले भने, ‘कम्युनिष्टका लागि दुई तिहाई अब सामान्य भएको छ । आगामी चुनावमा दुई तिहाइ होइन्न तीन चौथाई ।’

नेत्र विक्रम चन्द ‘विप्लव’को पार्टीलाई संकेत गर्दै ओलीले कम्युनिष्टहरुको बहुमत आउँदा कोही कोही भने बानी बिग्रेका केटाकेटी जस्ता सुतली बम पड्काएर बसेको बताए ।

उनले स–साना पसल थापेर बस्ने कम्युनिष्ट पार्टीलाई अहंकार र जिद्धी छाडेर मुलधारमा आग्रह समेत गरे ।

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टी ४४१ सदस्यीय रहेको बताइएको छ ।

  •  
    11
    Shares
  • 11
  •  
  •  
  •  

तपाइको मत