धैर्य गर्नुस्, पिच बाटोबाट यात्रा गर्न पाउनु हुनेछ – सांसद सिंखडा

३ जेठ ०७५, धादिङ । प्रदेश नं. ३ का सांसद जगत सिंखडाले ०७५ साल भित्रै धादिङबेसी–टारीबेसी सडकखण्ड पीच हुने बताएका छन् ।

धादिङ क्षेत्र नं. २ का स्थानीय विष्णु सिंखडाले काम नगर्ने जनप्रतिनिधिलाई मत दिई विजयी गराउने नागरिक नै दोषी रहेको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि धादिङबाट निर्वाचित सांसद जगत सिंखडाले ०७५ साल भित्रै धादिङबेसी–टारीबेसी सडकखण्ड पीच हुने बताएका हुन् ।

‘यो बाटो बनेको २४/२५ बर्षसम्म पनि यही हालतमा हुनुको दोषी, म पनि हुँ ।’ स्थानीय विष्णु सिंखडाले आफ्नो फेसबुक वालमा लेखेका छन् । उनको स्टाटसको कमेन्टबक्समा सांसद सिंखडाले ०७५ सालभित्रै पिच हुने आश्वासन दिएका छन् ।

सांसद सिंखडाले लेखेका छन्, ‘धैर्य गर्नुस् ०७५ सालभित्रै टारीबेसीसम्म पिच बाटोबाट यात्रा गर्न पाउनु हुनेछ, मैले सपथ खाएको ४ महिना भयो ।’

स्थानीय कल्याण अधिकारीको प्रतिक्रिया छ, ‘धेरै वर्ष धैर्य गरिसकेका छौं । अझै धैर्य गर्न नसकिने होइन् माननीय, तपाईंको बोली परिवर्तन नहोस् । आश गरौं छिटो बन्नेछ ।’

स्थानीय सिंखडाले प्रतिक्रिया वक्समा यो सडकखण्ड बन्द गर्न राजनीतिक पार्टीको आवश्यकता नै नपर्ने पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो त हिउँदको काष्टिङ्ग मात्र हो, वर्षात्मा त बन्द नै हुन्छ । विप्लवको आवश्यकता नै पर्दैन् बन्द गर्न ।’

‘धैर्य गरेको धेरै भइसक्यो, भूकम्प गएको तीन वर्ष बितिसक्यो । जनताको अवस्था कस्तो होला ।’ भनी अर्का स्थानीय कुलबहादुरले सरकार र जनप्रतिनिधिहरुलाई घच्घच्याएका छन् ।

यस सडकखण्डको दुरावस्थाबारे सामाजिक सञ्जालमा यस्ता तस्बिरहरु सार्वजनिक भएको यो पहिलोपटक भने होइन । तर, निर्माण सुरुभएको करिब अढाई दशकको अवधिमा यस सडकखण्डमा सरकारले करोडौं रकम खर्च गरिसकेको र यही क्षेत्रबाट धैरै जना मन्त्री र सांसद बनिसके पनि सडकको अवस्था रोपाईको लागि तयार गर्दै गरेको खेत भन्दा फरक छैन् ।

घाम लाग्दा धूलो र पानी पर्दा हिलो । बर्खा सुरु नहुँदै सवारी साधन बन्द । यो सडकखण्डबाट जिल्ला सदरमुकाम धादिङबेसी जोडिने नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, उत्तर पश्चिमी धादिङे र गोर्खाली नागरिकले समेत सास्ती खेप्नु परिरहेको छ ।

सामाजिक सञ्जालमा समयसिमासहित निर्माण कार्य सकिने प्रतिवद्धता जनाएका सांसद सिंखडाले सरोकारवाला निकाय र कामको जिम्मा लिएका ठेकदारलाई तोकिएको समयमै काम सक्न निर्देशन दिएको बताए ।

  •  
    65
    Shares
  • 65
  •  
  •  
  •  

तपाइको मत