३ जेठ ०७५, काठमाडौं । नेपाली चलचित्र उद्योगका चर्चित निर्माता माधव वाग्ले नेपाली नक्कली नोटसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुको टोलीले वाग्लेलाई नेपाली नक्कली नोट २ करोड ५२ लाख रुपैयाँसहित घरबाट पक्राउ परेका हुन् ।
लामो समय फिल्म वितरक र त्यसपछि फिल्म निर्माताका रुपमा सक्रिय वाग्लेले काठमाडौँको चार ढुंगेस्थित प्रिन्सेस मुभिज प्रालिका सञ्चालक गर्दै आएका छन् ।
कमल पोखरी बस्ने सुर्खेतका २४ वर्षीय महेन्द्र बोगटीले मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा बिल तिर्दा नक्कली नोट दिएको उजुरी क्याफेका सञ्चालकले गरेपछि थालेको अनुसन्धानका क्रममा नक्कली नोटको गिरोह समात्न सफल भएको हो ।
प्रहरीले सुरुमा उनको साथबाट जेठ १ गते १ लाख २० हजार नेपाली नक्कली नोट बरामद गरेको थियो । उनैको बयानका आधारमा प्रहरीले ललितपुरको लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङको कोठा खानतलासी गरेर एक हजार दरका ७ लाख ४३ हजार नोट बरामद गरेको थियो ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीको टोलीले वाग्लेको कोठाका ठुलो परिमाणको नक्कली नोट बरामद गरेको हो ।
अनुसन्धानका क्रममा यी नोट बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक धादिङका ३६ वर्षीय प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापितलाई छाप्न दिएको खुलेकोले सुवेदी र नापीतलाई पनि पक्राउ गरेकाे छ । पोखरेलका अनुसार यी नक्कली नोट विकेशकै प्रेसमा छापिएको पत्ता लागेको छ ।
- 1Share
1