आमासँगै कारागारमा जीवन बिताइरहेकी तीन वर्षीया बालिकाको उद्दार

४ जेठ ०७५, राजविराज । पुर्पक्षका लागि राजविराज कारागारमा बन्दी आमासँगै विगत १४ महिनादेखि सँगै बन्दी जीवन बिताइरहेकी एक अवोध बालिकाको उद्दार गरिएको छ ।

आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातो निवासी उर्मिला मण्डलकी ३ वर्षीया छोरी ज्योतिको एक गैरसरकारी संस्थाको पहलमा बिहीबार उद्दार गरिएको हो ।

कारागारका जेलर सत्यनारायण यादवकाअनुसार आमा र बालबालिकाको अधिकार, विकास र संरक्षणका क्षेत्रमा काम गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा आमासँगै रहेकी ज्योतिको उद्दार गरेको हो ।

ज्यान मुद्दामा १४ महिनादेखि कारागारमा बन्दी रहेकी उर्मिलाकी छोरी ज्योतिको उचित पालनपोषण, शिक्षा–दिक्षा र उज्वल भविष्यको लागि उद्दार गरिएको संस्थाकी केन्द्रीय अध्यक्ष इन्दिरा राना मगरले बताइन् ।

बन्दीका छोरीछोरीको भविष्य अन्धकार नहोस् भन्ने उद्देश्यले उनीहरुकै अनुमतिमा कारागारमा रहेका बालबालिकाहरुको उद्दार गरी संस्थाको सेल्टर होममा राखिने गरिएको राना मगरले जानकारी दिइन् ।

ती बालबच्चाहरुका लागि सेल्टरमा उचित खानपान र शिक्षाको उचित प्रबन्ध मिलाइएको मगरको भनाइ छ ।

ज्योतिको उद्दारसँगै संस्थाले कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरुको लागि एक थान पानी तान्ने मोटर र अध्ययनका लागि केही पुस्तकहरु समेत कारागार प्रशासनलाई उपलब्ध गराएको छ ।

  •  
    9
    Shares
  • 9
  •  
  •  
  •  

तपाइको मत