ट्राफिक नियम उल्लङ्घन गरे ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना !

लापरवाही गर्ने ठेकेदारहरुको विवरण पठाउन गृह मन्त्रालयको परिपत्र


४ जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएका कम्पनी र ठेकेदारहरुको सूचि एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने र सम्पन्न गरेका कामहरु पनि स्तरीय नरहेको गुनासो बढ्दै गएपछि बिहीबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले यस्तो सूचि बनाउन निर्देशन दिएको हो ।

गृहमन्त्री बादलको निर्देशन अनुरुप  गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्रमा भनिएको छ, ‘‘जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने ।’’

गृहमन्त्रालयले यस्तो सूचि आइसकेपछि उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ ।

गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसीमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधिमा काम सम्पन्न नगरे पक्राउ गर्न बिहीबारको बैठकमा निर्देशन दिएका छन् ।

ट्राफिक नियममा कडाई सुरु
बैठकमा गृहमन्त्री बादलले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको पालना कडाईका लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । गृहको निर्देशन लगतै ट्राफिक नियममा आजदेखि कडाई सुरु भएको छ ।

काठमाडौं उपत्यकामा बिहीबारदेखिनै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था गरिएको छ ।

आगामी आइतबारदेखि माइक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाइपूर्वक लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ ।

मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ । त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ ।

ट्राफिक जरिवाना बढ्दै
ट्राफिक नियम उल्लङ्घन गर्दा तिर्नु पर्ने जरिवाना रकम कम भएको कारण सवारी चालकले ट्राफिक नियम उल्लङ्घन बढी गर्ने गरेकोे गुनासो बिहीबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन निर्देशन दिएका छन् ।

हाल ट्राफिक नियम उल्लङ्घन गर्दा ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना रहेकोमा यसलाई बढाएर ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पु¥याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ ।

ट्राफिक नियमलाई कडाई गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहरसहित ट्राफिक जरिवाना बढाउन लागिएको हो ।

सिंहदरबारभित्र निश्चित ठाउँमा मात्रै पार्किङ
सिंहदरबारभित्र जथाभावी सवारी पार्किङका कारण कुरुप देखिएपछि अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ ।
यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानहरुको खोजी भइरहेको छ ।

पार्किङस्थलको पहिचान भए लगतै मन्त्री बाहेक अन्यको गाडी पार्किङस्थलमा मात्रै राख्ने आवश्यक तयारी भइरहेको छ ।

  •  
    28
    Shares
  • 28
  •  
  •  
  •  

तपाइको मत