मलेसिया जाने कामदारमाथि अवैध शुल्क उठाएको आरोपमा म्यानपावर मालिक श्रेष्ठ पक्राउ

६ जेठ ०७५, काठमाडौं । मलेसिया जाने कामदार ठग्ने वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको अभियोगमा श्रेष्ठलाई गैरीधाराबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार श्रेष्ठको ओएससी नामक कार्यालयले मलेसिया जाने कामदारको राहदानी संकलन गरी काम गरिदिएबापत उक्त कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क, ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ भ्याट  र  राहदानी दूतावाससम्म पुर्याउन  ३ हजार ६ सय १६ रुपैयाँ उठाउँदै आएको बताए ।  प्रवक्ता थापाले ओएससी र छोटकरीमा भीएलएन भनिने मलेसिया भीएलएन नेपाल प्राइभेट लिमिटेड फरक कम्पनी भए पनि एउटै व्यक्ति राम श्रेष्ठको भएको बताए ।

गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरी प्रधान कार्यालयका डीआईजी धीरु बस्न्यातको नेृतत्वमा महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर मातहतको टोलीले मलेसिया जाने कामदारमाथि भएको शोषणबारे अनुसन्धान थालेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्नुको साथै ती कम्पनीबाट लिने शुल्कलाई रोक्न गृह मन्त्रालयलाई पत्रचार गरेको थियो ।

मन्त्रालयले स्वास्थ्य परीक्षणमा भएको एकाधिकार समेत तोडेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत