राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्लीको मेदान्त लगियो

९ जेठ ०७५, काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा  भर्ना भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।

विगत केही हप्तादेखि ग्राण्डीमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।

राष्ट्रकवि घिमिरेको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेका थिए ।

आन्तरिक रक्तश्रावको कारण पत्ता नलागेपछि विदेश लैजान परिवारस्रोतलाई सुझाएको चिकित्सक विवेक शर्माले बताए । डा. शर्माले भने- ‘१२ दिनअघि अस्पताल भर्ना हुँदा भन्दा उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको छ तर  रक्तश्रावको मात्रा घटे पनि कारण पत्ता लगाउन हाम्रो प्रविधि पर्याप्त नभएकाले विदेश लैजान सुझाएका छौं ।’

उनले इन्डोस्कोपी, कोलोनोस्कोपी, सीटी स्क्यान, सीटीएनजीओग्राफी गर्दा कुनै जटिल समस्या नदेखिएको बताए । सानो आन्द्रामा समस्या भएकाले रक्तश्राव भएको हो कि भन्ने लागेकाले ‘इन्टेटेरोस्कोपी’ गर्नुपर्ने भएकाले  यो प्रविधि हामीसँग नभएकाले त्यसका लागि बाहिर जानुपर्ने बाध्यता भएको बताए ।

पारिवारिक स्रोतका अनुसार ०७४ माघ २४ बाट सामान्य बिरामी परेका घिमिरेलाई सुरुमा फोक्सोको समस्या देखिएकाले भैंसेपाटीको मेडिसिटीमा उपचार गर्न जाने र आउने क्रमसँगै खुट्टामा सुजन भएपछि ग्रान्डी लगिएको बताए ।

राष्ट्रकवि बिरामी भएर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएपछि सोमबार साँझ प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर उपचार बारे जानकारी लिँदै उनीसँग भेट गरेका थिए । प्रम ओलीले नै नेपालमा उपचार सम्भव नभए विदेश लगेर भएपनि उपचार गरिने र त्यसको सबै खर्च सरकारले बेहोर्ने बताएका थिए ।

सेनाका मानार्थ सहायकरथी घिमिरेलाई मंगलबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अस्पतालमै भेटेका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत