राजविराजमा असार १ भित्रै नियमित उडान सुरु हुन्छ – मन्त्री अधिकारी

१० जेठ ०७५, राजविराज । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्रनाथ अधिकारीले राजविराज विमानस्थलबाट असारको १ गते अघि नै नियमित उडान सुरु गर्ने बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणद्वारा विमानस्थलको कार्यकक्षमा आयोजित ‘स्तरोन्नति राजविराज विमानस्थलमा उडान संचालन’ कार्यक्रमको उद्घाटनमा सो कुरा बताएका हुन् । उनले भने – ‘सबै ढुक्क भएर बस्नुस्, असार १ गते भित्रै पर्याप्त यात्रु होस या नहोस् नियमित उडान सुरु हुन्छ ।’

मन्त्री अधिकारीले कार्यक्रममा उपस्थित श्री एयरलाइन्सका प्रमुख सुधीर मित्तललाई ढिला नगरी असार १ गते भित्रै नियमित उडान सेवा संचालनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

मन्त्री अधिकारीले ६ महिनाभित्र यो विमानस्थलमा तेल भर्ने गाडी पनि राखिने जानकारी दिदैं कार्गो विमानस्थलको रुपमा पनि यो विमानस्थलको विकास गरिने प्रतिवद्वता जनाए ।

मन्त्री अधिकारीसँगै जहाज चढी गएका पूर्व पर्यटन तथा नागरिक उडययन मन्त्री जितेन्द्र नारायण देवले आफुले थालेको प्रयास सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै मन्त्री अधिकारीसँग नियमित उडान सेवा र बाँकी रहेका आवश्यक पूर्वाधारका लागि सहयोग गर्न आग्रह गरे ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले राविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए र नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने बताए ।

प्रदेश सभा सदस्यद्वय मनिष सुमन र सत्यनारायण मण्डलले राविराज विमानस्थललाई यात्रुसँगै कार्गो एयरपोर्टमा पनि परिणत गर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको थिए । तर, धावन मार्ग पक्की नहु्ँदा ०६४ साल मंसिर २ गतेदेखि हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको थियो ।

अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणका लागि तारा एयरले केही दिन विमान संचालन गरेता पनि यात्रुको अभाव देखाउँदै सेवा पुनः बन्द गरेको थियो ।

बिहीबार श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट राजविराज विमानस्थलको रनवे उद्घाटन गर्न मन्त्री रविन्द्रनाथ अधिकारी, पूर्व मन्त्री जितेन्द्र नारायण देव, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, नागरिक उडययन प्राधिकरणका महानिर्देशक संजिव गौतम लगायतका टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

राजविराज विमानस्थल संचालन गर्ने गरी अघिल्लो दिन श्री एयरलाइन्सको सोही जहाजले सफल उडान परिक्षण गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत