‘कनेक्सन’ देखिए कुनै पनि हालतमा छुट्कारा मिल्ने छैन – डीआईजी रिजाल

११ जेठ ०७५, मोरङ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केदार रिजालले गल्ती गर्ने जुनसुकै तहका प्रहरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रदेश प्रहरी प्रमुखका रुपमा भर्खरै सुरुवा भएर आएका रिजालले मोरङ र सुनसरीका विभिन्न प्रहरी युनिटका इन्चार्जलाई शुक्रबार विराटनगरमा निर्देशन दिँदै अपराधी र तस्करसँग सम्बन्ध राख्ने र सम्पर्क बढाउने प्रहरीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘विभिन्न खालका अपराध, तस्करी र अवैध धन्दा सञ्चालन गर्नेसँग कोही प्रहरीको ‘कनेक्सन’ देखिए कुनै पनि हालतमा छुट्कारा मिल्ने छैन,’ उनले भने, ‘प्रहरीको बर्दी लगाएका कसैले पनि दुस्कर्म गर्न हुँदैन् ।’

विभिन्न युनिटका प्रहरी इन्चार्जसँग डीआईजी रिजालले जिल्लामा हुने गरेका अपराधका बारेमा जानकारी पनि लिएका छन् ।

डीआईजी रिजालले सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, मानव बेचबिखन, हतियार कारोवार, गुण्डागर्दी, तस्करीलगायत विभिन्न प्रकृतिका अपराध नियन्त्रणमा कुनै पनि कसर बाँकी राख्न नहुने बताएका छन् ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत