११ जेठ ०७५, हुम्ला । समिट एयरको लेट विमानले साँफेबगर विमानस्थलमा परीक्षण उडान गरेको छ ।
सिमिकोटबाट नेपालगञ्ज जान आएको विमानले साँफेबगर विमानस्थलमा परीक्षण उडान गरेको हो ।
वि.सं. ०६२ बाट पूर्ण रुपमा उडान बन्द भएको साँफेबगर हवाइ मैदानको कालेपत्रे गरिएपछि हवाइ उडान परीक्षण भएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताए ।
खेलुकद सञ्चालन गर्ने मैदानमा परिणत भइसकेको हुम्लाको साँफेबगर विमानस्थलमा अब नियमित उडानको तयारी भइरहेको प्रमुख कुँवरले जानकारी दिए ।
प्रमुख कुवँरले भने, ‘प्लेन नियमित चलाउनका लागि म काठमाडौं जाने तयारीमा छु । कहिलेबाट कसरी र कुन समयमा प्लेन चलाउने भन्ने बारेमा मन्त्रालयमा छलफल हुन्छ ।’
नेपाल एयरलाइन्सको हवाईजहाज सजिलै नपाइने भएपछि निजी कम्पनीका जहाज भए पनि नियमित गर्ने तयारी भइरहेको छ ।
साँफेबगरबाट उडान हुने भएपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् ।