बिरामी बिनाको क्षेत्रीय प्रहरी अस्पताल : जनशक्ति १३ जना

जग्गादाता भगतले किन गरे प्रहरी अस्पतालमै पत्रकार सम्मेलन !

१२ जेठ ०७५, राजविराज । अस्पतालका लागि करोडौं मुल्य पर्ने जग्गा दान गरेका जोगेन्द्र भगतले पूर्व क्षेत्रीय प्रहरी अस्पताल परिसरमै पत्रकार सम्मेलन गरी जग्गादान गरेर पछुतो लागेको बताएका छन् ।

शुक्रबार अस्पताल परिसरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै जग्गादाता भगतले सरकारी उदासिनताका कारण बिमारी बिनाको अस्पताल बन्न पुगेपछि आफूलाई पछुतो र निराश लागेको बताएका हुन् ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव र जग्गादाता भगतले संयुक्त पत्रकार सम्मेलन गरी अस्पतालको समस्या हल गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका छन् ।

अस्पताल सञ्चालनका लागि करोडौं मूल्य पर्ने सवा दुई बिगाहा जग्गा दान गरेका भगतले भने, ‘यहाँका जनताले स्वास्थ्य सेवा पाउनेछ भनेर करोडौं मूल्य पर्ने जग्गा दान गरेँ । निकै उत्साहका साथ प्रहरीलाई अस्पताल सञ्चालनका लागि हस्तान्तरण पनि गरियो । तर, अहिले अस्पतालको अवस्था हेरेर रुन मन लागेको छ ।’

यसैगरी गाउँपालिकाका अध्यक्ष यादवले पत्रकार सम्मेलनमा अस्पताल सञ्चालन नहुनको कारण खुलाउँदै अस्पताल उद्घाटन भएकै दिनदेखि विद्युत ट्रान्सफर्मर जडानका लागि केन्द्रीय प्रहरी र क्षेत्रीय प्रहरी कार्यालयमा पटक–पटक आग्रह गरेपनि आश्वासन मात्र पाएको बताए ।

अध्यक्ष यादवले प्रहरी निकायबाट सहयोग नपाएपछि ट्रान्सफर्मर जडानका लागि गाउँपरिषदबाट बजेट पास गरी दुई लाख ५० हजार रुपैयाँ नेपाल विद्युत प्राधिकरण शाखा राजविराजको खातामा जम्मा गरेको बताए ।

गाउँपालिका अध्यक्ष यादवले तीन फेजको तार जडान तथा अन्य खर्चका लागि प्रहरी निकायले कुनै चासो नदेखाएको पनि बताए ।

अस्पतालबाट सेवा नपाएपछि स्थानियवासी निराश

पूर्वपश्चिम लोकमार्ग नजिकै रहेको अस्पतालमा प्रहरी र सर्वसाधारणको समेत उपचार हुने उद्देश्यसहित स्थापना भएको तर अस्पतालबाट सेवा नपाएपछि स्थानियवासी समेत निराश भएका छन् ।

स्थानीयवासी बिन्दु यादवले भने, ‘उद्घाटन हुँदा यहाँका जनतामा जुन उत्साह थियो । ती उत्साहहरु सेवा सूचारु नहुँदा निराशामा परिणत भएको छ ।’

पूर्व–पश्चिम लोकमार्गको नजिकै रहेको अस्पताल भएकाले सवारी दुर्घटनाका बिरामी उपचारका लागि आउने तर उपचारबिना फर्काइनु पर्दा सर्वसाधारणमा समेत निराशा आएको स्थाीनय बुद्धिजीवी विरेन्द्र साहले बताए ।

बिरामी बिनाको प्रहरी अस्पतालमा जनशक्ति १३ जना

रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल सरकारी उदासिनताका कारण बिमारी बिनाको अस्पताल बन्न पुगेको छ ।

तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ०७३ साल माघ १३ गते निकै तामझामका साथ उद्घटन गरेको १३ शैय्याको उक्त अस्पताल हालसम्म विद्युत ट्रान्सफर्मर जडान हुन नसक्दा बिमारी बिनाको अस्पताल बन्न पुगेको हो ।

अस्पतालमा डिजिटल एक्सरे मेसिन, भिडियो एक्सरे, डेण्टल केयर र आकस्मिक कक्ष लगायतका सेवा उपलब्ध भएता पनि विद्युत अभावका कारण उपकरणहरु बेकाम बनेका छन् ।

अस्पतालमा २ चिकित्सक, १ नर्स, ६ अहेब, १ अनमी, १ ल्याब असिस्टेन्ट, १ डेन्टल असिस्टेन्ट र १ जना रेडियोलोजिस्ट गरी १३ जना जनशक्ति उपलब्ध छन् ।

निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

छिन्नमस्ता विकास सेवाले स्त्री तथा प्रसुती रोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शुक्रबार रुपनी गाउँपालिकाको सहयोगमा छिन्नमस्ता विकास सेवाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

विभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिब, विपन्न परिवारहरुलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट ४ सय ९० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

विराट मेडिकल कलेजबाट आएका डा.अमित देव, डा.सृष्टि थापा, डा.रोजिना सेडाही, डा.दिपेन्द्र खनाललगायत चिकित्सकले ४ सय ९० जना रोगीको निःशुल्क चेकजाँच गरेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

शिविरमा भिडियो एक्सरे र जाँच सेवा साथै औषधिहरुसमेत निःशुल्क वितरण गरिएको थियो ।

पाठेघरसम्बन्धी समस्याबाट पीडित ६९ जना जटिल रोगीलाई विराट मेडिकल कलेजले निःशुल्क उपचारको व्यवस्था मिलाउने मेडिकल कलेजका मार्केटिङ डायरेक्टर सुनिल देवले बताए ।

  •  
    10
    Shares
  • 10
  •  
  •  
  •  

तपाइको मत