त्रिभुवन विश्वविद्यालयले अब एकैदिनमा ट्रान्सक्रिप्ट दिने

१३ जेठ ०७५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ ।

आइतबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले उक्त प्रविधिबाट बनेको प्रमाणपत्र स्नातक तह शिक्षाशास्त्रका मनोजकुमार सिंहलाई  प्रदान गरी सो प्रणालीको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा  प्रा.डा. खनियाँले  त्रिविलाई कागजविहीन बनाउन प्रयासमा रहेकाले यसको सुरुवात  आजदेखि एकै दिनमा ट्रान्सक्रिप दिन थालेका बताए । उनले एकै दिनमा ट्रान्सक्रिप दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्दै सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने जानकारी दिए ।

कार्यक्रममा परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने बताए । उनले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप दिइने जानकारी दिए ।

परीक्षा नियन्त्रक जोशीले त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी  गरेको बताए ।

परीक्षा नियन्त्रक जोशीले विद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने जानकारी दिए ।  पनिकाले अहिले केन्द्रीय कार्यालयबाट शुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप दिइने तयारी गरेको उनले बताए ।

अहिले दैनिक करीब १ हजार ५ सय जना ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन् ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत