गोरखामा समयमा काम नगर्ने ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी

१७ जेठ ०७५, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आयोजनाको म्याद सकिदा पनि काम नगर्ने र सम्पर्कमा नआउने ९ जना ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

बिहीबार  प्रशासनले ठेकेदारको लापरवाहीका कारण विकास निर्माणका काम प्रभावित बनेको गुनासो बढ्न थालेपछि काम नगर्ने विरुद्ध कारवाही सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आयोजनाको म्याद सकिदा पनि काम नगर्ने र सम्पर्कमा नआउने ९ जना ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताए । राम्रो काम गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने र लापरवाही गर्नेलाइ कारवाही गर्ने बताउँदै उनले भने- ‘हाम्रो अभिप्राय कारवाही गर्ने भन्दा पनि विकास निर्माणको कामले गति पाओस् भन्ने हो, नियम संगत तरिकाले काममा आवश्यक सहयोग गर्न हामी तयार छौं, तर यति गर्दा पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारलाई हामी छाड्दैनौं ।’

प्रजिअ भट्टराईले काममा लापरवाही गर्ने ठेकेदारको नाम गृह मन्त्रालयमा पठाएकाले जिल्लाबाट मात्र नभइ केन्द्रबाट पनि निरीक्षण भइरहेको बताउँदै ठेकेदारलाई काम गर्दै जादा केही समस्या भएमा सम्बन्धित आयोजनाको कार्यालयमा लिखित जानकारी गराउन समेत आग्रह गरेका छन् ।

सरकारले विकास निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेकोले  ठेकेदारलाई मात्र नभई सम्बन्धित आयोजनाको कार्यालयलाई पनि आफूले घचघच्याइरहेको भट्टराईले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत