तेलको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ३ जना पक्राउ, २ पेट्रोल पम्पमा शिलबन्दी

२८ जेठ ०७५, काठमाडौं । धनुषा प्रहरीले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरमा रहेको आयल निगमको डीपो प्रमुख मोहन कुमार साहसहित पेट्रोलियम डिलर्स एशोसिएसन धनुषाका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ धनुषाका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरेको हो ।

उनीहरुले पेट्रोलियम पदार्थको सहज वितरणमा अवरोध पुर्याइ बजारमा कृत्रिम अवरोध पुर्याएको प्रहरीले जनाएको छ ।

पेट्रोल पम्प सञ्चालकहरुले ट्यांक्टर चालकलाई ढुवानी गरेवापत दिँदै आएको ६ सय रुपैयाँ भत्ता कटौती गरेपछि विवाद बढेको थियो । सोही विषयमा केही दिन अगाडि भएको छलफलमा पेट्रोलियम पदार्थको वितरण र ढुवानीमा अवरोध नगर्ने सहमति भएको थियो ।

धनुषाको महेन्द्रनगरस्थित डिपोबाट धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा दैनिक इन्धन वितरण हुने गर्छ । तर उक्त डिपोबाट विगत तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिङ नै भएको छैन ।

त्यस्तै, प्रहरीले जनकपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेर पेट्रोल हुँदाहुँदै पनि बिक्री नगरेर उपभोक्तालाई सास्ती दिएको आरोपमा दुईवटा पेट्रोल पम्पमा शिलबन्दी गरेको छ ।

जनकपुरको जिरो माइलस्थित भी आयल र बाबा पेट्रोल पम्पमा प्रहरीले छापा मारी शिलबन्दी गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत