गोरेसहित ३ जनाको सम्पत्ति छानबिन सुरु

२९ जेठ ०७५, काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई गैरकानुनी रुपमा आर्जन गरेको सम्पतिको छानबिन सुरु गरेको छ ।

सुन तस्करीमा संलग्न अभियुक्तहरू गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानविन अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

विभागका प्रवक्ता विनोद लामिछानेले  सुन तस्करीमा संलग्न जोकोहीलाई अनुसन्धानको दायरामा ल्याउने बताए । विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ ।

विभागले सम्पत्ति छानबिन अनुसन्धानका क्रममा अभियुक्तहरू गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ ।

विभागले मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित तीन जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको थियो ।  हाल गोरेसहित तीन जना अभियुक्तहरूलाई केन्द्रीय कारगारमा राखिएको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत