निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

३१ जेठ ०७५, काठमाडौं ।  सर्वोच्च अदालतमा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै रिट दायर गरिएको छ ।

बिहीबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले  संविधान र कानुन विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्ने आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था विपरीत सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको बताए ।

रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न गराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय संविधान र दल दर्ता ऐन विपरीत भएकाले खारेज गर्नुपर्ने रिट निवेदकहरु वरिष्ठ अधिवक्ता भण्डारी र अधिवक्ता तुलाधरको दावी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत