१ असार ०७५, चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा माइक्रो बस र ट्रक एकापसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
शुक्रबार बिहान ७ः२० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख ७६९२ नं को माइक्रोबस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक एकापसमा जुध्दा दुर्घटना भएको हो ।
तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि भरतपुर ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको तर मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका जनाएको छ ।
घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेजमा, दुईजनाको चितवन पुरानो मेडिकल कलेज, भरतपुरमा र एक जनाको पोखरामा उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा रहेका दुईजना र पुरानो मेडिकल कलेजमा रहेका दुईजना गरी चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार माइक्रोसँग ठोक्किएपछि ट्रक सडकबाट ५० मिटर तल खोचमा खसेको छ । दुर्घटनामा ट्रक र माइक्रो बसका चालक पनि घाइते भएका छन् । घाइते भएकै अवस्थामा प्रहरीले दुवैजनालाई हिरासतमा लिएको छ ।