६ असार ०७५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा मौसमी बेलुन उडाइएको छ ।
बुधबार कीर्तिपुरबाट बिहान ५ बजेर ३७ मिनेटमा पहिलोपटक बेलुन उडाइएको हो । मौसमी बेलुनको उडानको शुभारम्भ त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले संयुक्तरुपमा गरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्यांक पठाउने भएकाले अबदेखि नियमितरुपमा बिहान ५ः३० मा सोही स्थानबाट यस्ता बेलुन उडाइने जानकारी दिए ।
बुधबार उडाइएको बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान सवा ८ बजे सुन्दरीजल आसपासमा खसेको थियो । मौसमी बेलुन उड्दाको सरदर गति ६ मिटर प्रतिसेकेण्ड र झर्दाको गति ३ मिटर प्रतिसेकेण्ड रहेको थियो ।
हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ ।
बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पारेमा विभागमा पुर्याइदिन वा सम्पर्क गर्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।