लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु

६ असार ०७५, काठमाडौं । लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ ।

बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाईने जानकारी दिए ।

कार्यक्रममा गृहसचिव राईले लागू औषधको प्रयोग र ओसारपोसार समग्र समाज र राष्ट्रका लागि चुनौति बन्दै गएकोले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

गृहमन्त्रालयले हाल वार्षिक ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष ५ देखि ७ प्रतिशतमा झार्ने लक्ष्य सहित कार्ययोजना बनाएको बताए ।

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले कार्ययोजना सहित सचेतना अभियान सञ्चालन, लागू औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा÷अफिम फडानी, प्रभातफेरी र सभा लगायतका कार्यक्रम आयोजना गरिने बताए ।

सहसचिव दुवाडीले नेपालमा हाल करिब १ लाख ५० हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ताहरु रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरिरहेको बताए ।

त्यस्तै, असार १२ गते लागू औषध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को उपस्थितिमा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिने दुवाडीले बताए ।

लागु औषधको उत्पादन, ओसारपसर, बिक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सो को आधारमा नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको गृहमन्त्रालयले जनाएको छ ।

यो वर्ष ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता: लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत