एसइइ नतिजामा त्रुटि जानाजान नभएर प्राविधिक गडबडीका कारण- बोर्डका अध्यक्ष पौडेल

१३ असार ०७५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले एसइइ नतिजामा भएको त्रुटि जानाजान नभएर प्राविधिक गडबडीका कारण भएको बताएका छन् ।

शिक्षा पत्रकार समूहले एसइइ नतिजामा भएको त्रुटि सम्बन्धमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बोर्ड अध्यक्ष पौडेलले सो कुरा बताएका हुन् ।

बोर्डका अध्यक्ष पौडेलले एसइइ परीक्षाको उत्तरपुस्तिका अंकमा परीक्षण भएर अक्षरमा नतिजा प्रकाशित हुने भएकाले ९० प्रतिशत माथि आउने विद्यार्थीको नतिजा सिस्टममा ए प्लसमा जानुपर्नेमा ए मात्रै जाँदा समस्या आएको बताए । त्यो त्रुटि पनि आफुले विषयगत तथ्यांक निकाल्न प्राविधिकलाई जिम्मा दिँदा पत्ता लागेको भन्दै तथ्यांकविद् समेत रहेका बोर्डका अध्यक्ष डा. पौडेलले यो त्रुटि पछि विद्यालयलाई ग्रेडसिट पठाउँदा समेत सच्याउन सकिने भएपनि किन एकहप्ता अन्यौलमा राख्ने भनेर २४ घण्टा भित्रै सच्याइएको बताए ।

घटना भइसकेपछि बोर्ड आफैले छानविन समिति गठन गर्न सक्ने भएपनि आफुमाथि पनि छानविन होस् भनेर शिक्षा मन्त्रालयसँग समिति गठनका लागि आग्रह गरिएको डा. पौडेलले स्पष्ट पारे ।

शनिवार ३ बजे बैठक बसेर ४ बजे नतिजा सार्वजनिक गर्ने भनिएपनि प्राविधिक गडबडी भएको भन्दै राती ८ बजे मात्रै नतिजा प्रकाशित गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरुले शनिबार प्राविधिक समस्या आएको भए १÷२ दिन रोकेर ढिला नतिजा सार्वजनिक गरेको भएपनि हुने किन हतार गरिएको भनेर प्रश्न गरेका थिए ।

परीक्षा बोर्डका अध्यक्ष पौडेलले भने नियोजित नभइ नतिजा छिटो गर्ने भनेर शनिवार ढिलोगरी भएपनि नतिजा सार्वननिक गरिएको जनाए । राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षाको जिम्मा भएपनि शिक्षा मन्त्रालयले साविकको परीक्षा नियन्त्रण कार्यालय खारेज नगरेकाले कार्यालय आफैले नतिजा सार्वजनिक गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत