कानून व्यवसायीद्वारा इजलास बहिष्कार, सयौँ मुद्दा प्रभावित

१३ असार ०७५, राजविराज । कानून व्यवसायीहरुले मंगलबारदेखि अनिश्चितकालका लागि इजलास बहिष्कार गरेका छन् ।

कानुन व्यावसायीहरुले अदालतमाथि आर्थिक चलखेलको गम्भीर आरोप लगाउँदै मंगलबारदेखि अनिश्चितकालका लागि उच्च अदालत जनकपुर राजविराजको इजलास बहिष्कार गरेका हुन् ।

कानुन व्यावसायीहरुको बृहत भेलाले इजलास बहिष्कार गर्ने निर्णय गरेको जनाउँदै बार एशोसिएसनका अध्यक्ष विजयकुमार यादवले मुद्दा फैसलामा अनियमितता बढेका कारण फैसलामा प्रभावित हुन थालेकाले इजलास बहिष्कार गर्नुपरेको बताए ।

गत जेठ २० गते जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्याय परिषदले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि समेत इजलास बहिष्कार गरिएको उनको भनाइ छ । १६ जना जिल्ला न्यायाधीश नियुक्ति गर्दा समावेशीको सिद्धान्तलाई पालना नगरिएको अध्यक्ष यादवले आरोप लगाए ।

बार एशोसिएसनका सचिव बिमलकुमार साहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेश र फैसलाले अदालतप्रतिको जनआस्थामा ह्रास आएको आरोप लगाउँदै आर्थिक चलखेल बन्द नभएसम्म बन्दी प्रत्यक्षीकरण मुद्दा बाहेक सम्पूर्ण इजलास बहिष्कार गर्ने निर्णय भएको बताए ।

अदालतका इजलास बहिस्कार हुँदा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको २७ सय ५५ र नयाँ दर्ता भएको १७ सय ८९ मुद्दामा जेठ महिनासम्म बाँकी रहेको कूल ३ हजार १ सय ३५ मुद्दा प्रभावित हुने भएको छ । जेठ महिनामा मात्र ३ सय २० मुद्दा फ¥यौट भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत