माछा मासु पसलमा अनुगमन, सरसफाईमा लापरवाही

१३ असार ०७५, राजविराज । सप्तरीमा अनुगमन टोलीले अनुगमनलाई निरन्तरता दिंदैं दोस्रो दिन माछा मासु वधशालामा अनुगमन गरेको छ ।

अघिल्लो दिन सदरमुकाम राजविराज स्थित होटल र मिठाई पसलमा अनुगमन गरी टोलीले करिव १ लाख मुल्य बराबरको म्याद गुज्रेका, वासी, सडेगलेका, अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरेको थियो ।

बुधवारको अनुगमनको क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको र सरसफाईमा लापरवाही गरेको पाइएको अनुगमन टोलीका नेतृत्वकर्ता घरेलु तथा साना उद्योग कार्यालय प्रमुख राधाकृष्ण पोखरेलले बताए ।

अधिकांश व्यवसायीले पशु बधशाला र मासु जाँच ऐनको न्यूनतम मापदण्ड पुरा नगर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकोले अनुगमनका क्रममा सचेत गराईएको खाद्य निरीक्षक सुरेश सिंहले बताए ।

पशु वधशाला र मासु जाँच ऐन २०५५ अनुसार कुनैपनि पशुपंक्षी बध गर्नुअघि जाँच गर्नुपर्ने फरक जात अनुसार बधस्थल तोकिनुपर्ने, फोहरको उचित व्यवस्थापन गर्नुपर्ने, अनुमति पत्र लिएको हुनुपर्ने, केको मासु भनि चिनाउन खुट्टा स्पष्ट देखिने स्थानमा राखिनुपर्ने, मुल्य सुची टाँसिनुपर्ने, फोहर, जुठो र झिंगा नलाग्ने गरी माछा मासुको सुरक्षा गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

वजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पत्रकार, उद्योग वाणिज्य संघ, नागरिक न्यायिक उपभोक्ता मञ्च, जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्था र कार्यालयका प्रतिनीधि सहभागी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत