धादिङमा पहिरो घर बगाउँदा ५ जनाको मृत्यु, ५ जना घाइते

१४ असार ०७५, धादिङ । खनियाँवास साईश्वारा र च्यरीबोटमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बुधबार राति धादिङको उत्तरी भेगमा पर्ने खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा र खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ५ जनाको मृत्यु भएको हो ।

सत्यदेवीको साईश्वारामा राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको मृत्यु भएको छ । भने गोलेका १० वर्षीय नाति विकास गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरी नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ६१ वर्षीय शमसेर घले र उनकी श्रीमती कोप्ची घलेको मत्यु भएको जिल्ला प्रहरी प्रमुख डम्वरबहादुर विकले बताए ।

पहिरोले पुरिएका घले दम्पतीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको टोलीले निकालेको विकले बताए । सोही गाँउमा पहिरोले घर बगाउँदा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना र २ वर्षका रवि घाइते भएका छन् ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्ने भएकाले वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैनन् । घटनाको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत