नेविसंघद्वारा माइतीघर मण्डलामा प्रदर्शन

२० असार ०७५, काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

बुधबार दिउँसो माइतीघर मण्डलामा प्रर्दशन गर्न नपाइने सरकारको निर्णयविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए । प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर ।’ ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका थिए ।

प्रदर्शनको क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत वैशाख १६ गतेदेखि लागू हुने गरी काठमाडौंमा खुलामञ्च, तिनकुने खुल्ला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान पाउ, पेप्सीकोला, खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर, गौशाला मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत